काभ्रे । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि व्यक्तिगत रूपमा २० लाख रुपैयाँ जम्मा गरेका छन्।
निर्वाचनका बेला आफ्नो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेका खरेलले सोही प्रतिबद्धताअनुसार बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेका हुन्।
खरेलले आफ्नो बाँकी तलबसमेत जनसेवामै लगाउने बताएका छन्। उनले जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनताकै दुःखमा फर्काउने प्रयासस्वरूप सहयोग गरेको उल्लेख गरेका छन्।
बाढीपहिरोका कारण पीडित बनेका सम्पूर्ण नेपालीप्रति उनले साथ र ऐक्यबद्धता व्यक्त गरेका छन्।











