काठमाडौँ । भारत सरकारको सहयोगमा प्राप्त ७० मिटर लामो ‘बेली ब्रिज’ निर्माणका सामग्री नेपाल सरकार, सडक डिभिजनलाई हस्तान्तरण गरिएको छ।
शनिबार हेटौँडामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण सडक सञ्जाल प्रभावित भएको बेत्रावती क्षेत्रमा पुनः आवतजावत सहज बनाउन पुल निर्माणमा यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ।
हस्तान्तरण कार्यक्रममा संघीय सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा तथा जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति थियो।
राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत पुल निर्माणका लागि आवश्यक बाँकी सामग्री पनि आगामी दिनमा नेपाल आइपुग्ने जानकारी दिएका छन्।











