काठमाडाैं । निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’को नवौँ सिजन आधिकारिक रूपमा घोषणा गरिएको छ। नयाँ सिजनको ओटीटी रिलिज मिति सार्वजनिक गर्दै करणले यो नै शोको अन्तिम सिजन हुने जानकारी दिएका छन्।
सन् २००४ मा सुरु भएको शोका हालसम्म ८ सिजन र १६१ एपिसोड प्रसारण भइसकेका छन्। अन्तिम सिजनको घोषणा गर्दै करणले शोसँग जोडिएका आफ्नो अनुभव सम्झिँदै यो यात्रा भावुक रूपमा अन्त्य गर्न लागेको बताएका छन्।
करणका अनुसार ‘कफी विथ करण’ उनको जीवनको विशेष हिस्सा रहँदै आएको छ। शोले उनलाई साथी, सम्झना, रमाइला क्षण, माया र केही विवादसमेत दिएको उल्लेख गर्दै उनले अन्तिम सिजनलाई शोसँग जोडिएका सबैप्रति आभार व्यक्त गर्ने अवसरका रूपमा लिएको बताएका छन्।











