काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ जानुका पन्तले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
खस आर्य महिला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताइन् । पन्तले ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’लाई आफ्नो मुख्य नाराका रूपमा अघि सारेकी छन्।
स्कुल तहबाटै राजनीतिमा सक्रिय पन्तले पार्टी सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै अधिकार र नेतृत्वको पहुँच विस्तार गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएकी छन्। महिलाको नेतृत्व र क्षमता विकासलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्।
कांग्रेसभित्र तल्लो तहका कार्यकर्ताको भूमिका र अधिकारलाई थप प्रभावकारी बनाउने तथा प्रत्यक्ष संवादमार्फत जनताका समस्या र मुद्दालाई पार्टीको प्राथमिकतामा राख्ने पन्तको भनाइ छ।
युवा सहभागिता, सङ्गठन सुदृढीकरण, प्रत्यक्ष संवाद र जनताका मुद्दामा केन्द्रित कांग्रेस निर्माणलाई प्राथमिकता दिने बताउँदै उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई केन्द्रीय सदस्यमा विजयी गराउन आग्रह गरेकी छन्।
उनी गोरखा–१ बाट महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। एक दशकभन्दा बढी नेविसङ्घको विद्यार्थी राजनीतिमा सक्रिय पन्त गगन थापा निकट भनेर चिनिन्छिन्।











