काभ्रे । श्री वैष्णव युवा परिषद्, काभ्रेपलाञ्चोक, वैदिक अनुसन्धान फाउण्डेशन, श्री वैष्णव युवा परिषद्, काभ्रे शाखा तथा वैदिक अनुसन्धान फाउण्डेसन, काभ्रेको संयुक्त आयोजनामा “श्री सङ्कीर्तन महोत्सव २०८३” आयोजना हुने भएको छ।
मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै आचार्य नारायण प्रपन्नले नेपाली मौलिक धर्म, संस्कृति, संस्कार, वैदिक सनातन परम्परा तथा भक्तिसङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
आचार्य प्रपन्नका अनुसार श्री सङ्कीर्तन महोत्सव २०८३ भक्ति, सङ्कीर्तन, संस्कृतिको संरक्षण तथा आध्यात्मिक चेतनालाई केन्द्रमा राखिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम हो। विशेषगरी युवा पुस्तालाई आफ्नो मौलिक धर्म, संस्कृति, संस्कार तथा वैदिक परम्परासँग जोड्दै समाजमा सकारात्मक सोच, आध्यात्मिक चेतना, आपसी सद्भाव र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य महोत्सवको रहेको छ।
महोत्सवमार्फत नेपाली मौलिक धर्म, संस्कृति, संस्कार तथा वैदिक सनातन परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। साथै भजन, कीर्तन तथा भक्तिसङ्गीतका माध्यमबाट आध्यात्मिक चेतना र सकारात्मक सोचको विकास गर्ने तथा युवा पुस्तालाई धर्म, संस्कृति, परम्परा र आध्यात्मिक दर्शनप्रति आकर्षित गर्ने आयोजकको उद्देश्य छ।
त्यसैगरी सामाजिक सद्भाव, आपसी एकता, भाइचारा तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारलाई आफ्नो कला, प्रतिभा र सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने तथा वैदिक ज्ञान, धार्मिक मूल्य, नैतिक शिक्षा र मानवीय आदर्शलाई जनसमुदायसम्म पुर्याउने लक्ष्यसमेत राखिएको छ।
आधुनिक जीवनशैली र तीव्र सामाजिक परिवर्तनका कारण नयाँ पुस्ताको मौलिक धर्म, संस्कृति, संस्कार तथा परम्पराप्रतिको सम्बन्ध कमजोर हुँदै गएको अवस्थामा भक्ति, सङ्कीर्तन, संस्कृतिको संरक्षण र आध्यात्मिक चेतनालाई जनस्तरसम्म पुर्याउन महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
असोज २५ गते लायकु मञ्चमा महोत्सव
श्री सङ्कीर्तन महोत्सव २०८३ साल असोज २५ गते घटस्थापनाको दिन आयोजना हुनेछ। महोत्सव बनेपा नगरपालिका–८ स्थित लायकु मञ्चमा दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
महोत्सवमा बृहत् भजन तथा सङ्कीर्तनसँगै राष्ट्रिय तथा स्थानीय धार्मिक कलाकारहरूको प्रस्तुति रहनेछ। धार्मिक तथा सांस्कृतिक प्रस्तुतिसहित भक्तिमय तथा आध्यात्मिक वातावरणमा सामूहिक सहभागिता रहने आयोजकको भनाइ छ।
कार्यक्रममा विशेषगरी युवा, विद्यार्थी, धर्मगुरु, संस्कृतिप्रेमी, समाजसेवी तथा सम्पूर्ण भक्तजनलाई लक्षित गरिएको छ। धर्म, संस्कृति र आध्यात्मिकताप्रति आस्था राख्ने सम्पूर्ण आमसमुदायलाई कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरिएको छ।
व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने तयारी
कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी रूपमा सम्पन्न गर्न आयोजक संस्थाले स्वयंसेवक परिचालन, मञ्च तथा कार्यक्रम व्यवस्थापन, प्रचारप्रसार, अतिथि सत्कार, सुरक्षा तथा आवश्यक अन्य व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ।
कार्यक्रमको आर्थिक व्यवस्थापन भक्तजन, शुभेच्छुक, सहयोगी तथा सम्बन्धित पक्षबाट प्राप्त सहयोगमा आधारित रहनेछ। प्राप्त सहयोग तथा खर्चलाई पारदर्शी रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता आयोजक संस्थाले जनाएको छ।
महोत्सवमार्फत धर्म तथा संस्कृतिप्रति सकारात्मक चेतनाको विकास, युवा पुस्तामा आध्यात्मिक तथा नैतिक मूल्यको अभिवृद्धि, सामाजिक सद्भाव र एकताको प्रवर्द्धन तथा स्थानीय धार्मिक सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
साँगा–धुलिखेल क्षेत्रमा वैदिक अनुसन्धान केन्द्र स्थापना गर्ने योजना
पत्रकार सम्मेलनमा वैदिक अनुसन्धान फाउण्डेशनले काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल क्षेत्रभित्र नेपाली प्यागोडा तथा दक्षिण भारतीय वास्तुशैलीको समन्वयमा भव्य मन्दिर धामसहितको वैदिक अनुसन्धान केन्द्र स्थापना गर्ने दीर्घकालीन योजना समेत सार्वजनिक गरेको छ।
उक्त धामलाई वेद, संस्कृत, दर्शन तथा सनातन संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्द्धनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ।
सञ्चारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै आचार्य नारायण प्रपन्नले धार्मिक अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको समेत खुलासा गर्नुभयो।
धर्म, संस्कृति र सामाजिक सद्भावको साझा अभियान
आयोजकका अनुसार श्री सङ्कीर्तन महोत्सव २०८३ कुनै एक संस्था वा समूहको मात्र कार्यक्रम नभई धर्म, संस्कृति, आध्यात्मिकता र सामाजिक सद्भावप्रति आस्था राख्ने सम्पूर्ण काभ्रेपलाञ्चोकवासी तथा सनातनी समुदायको साझा अभियानका रूपमा अघि बढाइनेछ।
महोत्सवले विभिन्न समुदाय, उमेर समूह तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई एउटै आध्यात्मिक तथा सांस्कृतिक मञ्चमा जोड्दै आपसी सद्भाव, सहिष्णुता, भाइचारा र सामाजिक एकतालाई मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।
साथै स्थानीय कला, संस्कृति तथा प्रतिभालाई प्रोत्साहन गर्दै सांस्कृतिक जागरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सफल, मर्यादित र प्रभावकारी बनाउन सम्पूर्ण भक्तजन, आमसमुदाय, सञ्चारकर्मी, सामाजिक अभियन्ता, कलाकार, शुभेच्छुक तथा सहयोगी महानुभावहरूको साथ, सहयोग र सहभागिताका लागि आयोजकले हार्दिक आह्वान गरेको छ













