काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले व्यवसायी, मजदुर संघ–संगठन र ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका सवारी साधनलाई रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिट खुला गरिएको छ।
यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। तोकिएभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या भए सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा जानकारी गराउन सकिनेछ।
दसैंमा अत्यावश्यक खाद्यान्न, औषधि, फलफूल, तरकारी तथा खसी–बोका ढुवानीलाई प्राथमिकता दिइनेछ। व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले छोटो अवधिमा १५–१६ लाख यात्रु व्यवस्थापन गर्नुपर्ने भएकाले सबै पक्षबीच समन्वय आवश्यक रहेको बताएका छन्।











