बिहिबार, आश्विन २२, २०८३
गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको छ : मन्सुर

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ नीति, विचार र नेतृत्वसहित रूपान्तरण भएको दाबी गरेका छन्।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्सुरले भदौ २३–२४ पछि पार्टी र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न विशेष महाधिवेशनमार्फत कांग्रेस नयाँ दिशामा अघि बढेको बताए।

उनले आफूले नै केन्द्रीय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर जनतामाझ लैजानुपर्ने प्रस्ताव राखेको स्मरण गरे। १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले थापालाई कांग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरपर्दो राजनीतिक शक्तिका रूपमा स्थापित गरेको उनको दाबी थियो।

सभापति थापाले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै कांग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने मन्सुरले बताए।

‘भदौ २३–२४ पछि जनता र कांग्रेसबीच निराशा तथा आक्रोशको अवस्था थियो। त्यसबेला कांग्रेस नयाँ नीति र नयाँ नेता लिएर जानुपर्छ भनेर मैले केन्द्रीय कार्यसमितिमा कुरा राखेको थिएँ,’ उनले भने, ‘त्यही भावना अगाडि बढेर विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरित भयो, नयाँ विचार स्थापित भयो।’

कांग्रेसमा आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै मन्सुरले १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएको बताए। पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय