शुक्रबार, आश्विन ३०, २०८३
प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधारको तयारी भइरहेको बताउनुभएको छ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रहरी सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको जानकारी दिनुभयो। प्रहरीलाई उत्प्रेरित गर्न आवास, स्वास्थ्यलगायतका सेवासुविधा थप गर्ने तथा सरुवा र बढुवालाई व्यवस्थित बनाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो।

गृहमन्त्री गुरुङले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए फोरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको क्षमता अभिवृद्धि गर्न निर्देशन दिनुभयो।

उहाँले अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य तथा सूचना आदानप्रदानमा जोड दिनुभयो। राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै उहाँले सूचनाको गोपनीयता कायम राख्न पनि निर्देशन दिनुभयो।

प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उहाँको भनाइ थियो। साथै, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन र प्रहरीको आचरण तथा कार्यशैली नागरिकमैत्री बनाउन उहाँले आग्रह गर्नुभयो।

गृहमन्त्री गुरुङले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको र नेपाल प्रहरीको दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको पनि जानकारी दिनुभयो। प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय