आइतबार, कार्तिक ०९, २०८३
तीन महिनामा विद्युत् निर्यातबाट रु. १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु. ५ अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् निर्यातबाट प्राप्त आम्दानी भने बढेको छ।

प्राधिकरणका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको हो। उक्त विद्युत् बिक्रीबाट रु. ५ अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि विद्युत् बिक्रीबाट प्राप्त रकम बढेको जानकारी दिए।

असोज महिनामा निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो। द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको हो भने बाँकी विद्युत् डे-अहेड तथा वास्तविक समयको बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट रु. ४ अर्ब ९६ करोड ३० लाख बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आर्थिक वर्षको भदौमा रु. ५ अर्ब ९ करोड २५ लाख बराबरको कारोबार भएको थियो।

यस वर्षको असोजमा गत वर्षको सोही महिनाको तुलनामा रु. ९६ करोड २० लाख र भदौको तुलनामा रु. ८३ करोड २५ लाख बढीको विद्युत् निर्यात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा विद्युत् निर्यातबाट कुल रु. १६ अर्ब १५ करोड १३ लाख बराबरको कारोबार भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत् भारत तथा बङ्गलादेशमा निर्यात गर्दै आएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय