काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका ३७ जना नागरिकको आधिकारिक विवरण यकिन गर्न सम्बन्धित परिवार तथा आफन्तसँग विवरण माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले बेपत्ता व्यक्तिहरूको कानुनी अवस्था निर्धारण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तय गरेको प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागेको हो। यसका लागि स्थानीय तहलाई कात्तिक १८ गतेसम्मको समयसीमा तोकिएको छ।
प्रशासनका अनुसार बाढीमा परी काभ्रेका चार जनाको मृत्यु पुष्टि भएको छ भने बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका छन्। बाँकी बेपत्ता व्यक्तिहरूको विवरण यकिन गर्न सम्बन्धित वडा कार्यालयमार्फत निवेदन सङ्कलन भइरहेको छ।
बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। प्राप्त निवेदनमाथि स्थानीय तहले जाँचबुझ तथा दाबीविरोधको प्रक्रिया पूरा गरी अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ।
नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी अध्यादेश तथा विशेष प्रक्रिया, २०८३ अनुसार अघि बढाइएको यस प्रक्रियाबाट बेपत्ता नागरिकको आधिकारिक विवरण प्रमाणित गरी उनीहरूको कानुनी अवस्था निर्धारण गरिने जनाइएको छ।


