शुक्रबार, कार्तिक १३, २०८३
रैथाने खाना, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिँदै लिस्तिकोटमा होमस्टे तालिम

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका–१, लिस्तिकोटमा होमस्टे सञ्चालकहरूका लागि क्षमता विकास तालिम सुरु भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन गर्दै होमस्टे व्यवसायलाई व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

आगामी १७ गतेसम्म सञ्चालन हुने तालिममा होमस्टे व्यवस्थापन, बजारीकरण, अतिथि सत्कार, लेखा प्रणाली, स्थानीय कला–संस्कृति, धार्मिक पर्यटन तथा रैथाने परिकारलगायतका विषयमा प्रशिक्षण दिइनेछ।

उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका लेखापाल सन्तकुमार पुलामीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा युनेस्को सिन्धुपाल्चोकका अध्यक्ष रविन्द्र श्रेष्ठ, प्रशिक्षक मोहन गजुरेल, विदुर पोखरेल, भोटेकोसी युनेस्कोका अध्यक्ष कर्णबहादुर प्रधान, नारायण प्रधानलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन हरि वि.क.ले गर्नुभएको थियो।

तालिममार्फत होमस्टे सञ्चालकहरूलाई स्थानीय स्रोत–साधन, मौलिक संस्कृति र रैथाने खानाको पहिचान तथा प्रवर्द्धन गर्दै पर्यटन व्यवसायलाई दिगो र आयमूलक बनाउन आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गरिने अपेक्षा गरिएको छ।

लिस्तिकोटसहित भोटेकोसी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक खानालाई पर्यटनसँग जोड्दै यस क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय