सुनसरी । सुनसरीको धरानमा प्रहरीले बिहानै विशेष अपरेसन सञ्चालन गरी दुईवटा स्कार्पियो गाडीमा लोड हुँदै गरेको करिब २१० किलो गाँजा बरामद गरेको छ।
धरान उपमहानगरपालिका–२० च्यानडाँडामा आज बिहान करिब ३ बजे गाँजा लोड भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका गाडीबाट आठवटा पोकामा राखिएको गाँजा फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरू भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ।


