सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा मृत्यु भएका भारतीय नागरिकसहित घाइते तीन जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको हो। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेल घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार घाइते तीनै जनालाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना हुँदा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए।


