बुधबार, कार्तिक १८, २०८३
दिल्लीको हावा विषाक्त बन्दै, प्रदूषण नियन्त्रणका प्रयास प्रभावहीन

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले निर्धारण गरेको दैनिक मापदण्डभन्दा ३० गुणाभन्दा बढी प्रदूषण पुगेको हो।

वायु गुणस्तर अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार बुधबार दिल्लीका केही क्षेत्रमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्रामभन्दा माथि पुगेको छ।

दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण वायु प्रदूषण अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन तथा निर्माण कार्यमा कडाइ गरे पनि तीन दिनपछि नै प्रदूषणको स्तर थप बढेको हो। यद्यपि, भारतको सर्वोच्च अदालतले दीपावलीका अवसरमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ।

भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयाममा हुने वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत रहेको छ। त्यस्तै, विभिन्न ग्यासबीच हुने रासायनिक प्रतिक्रियाबाट उत्पन्न माध्यमिक कणले कुल प्रदूषणको २७ प्रतिशत हिस्सा ओगटेको छ।

विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग गरिने मलबाट निस्कने अमोनियाले पनि वायु प्रदूषण बढाउन भूमिका खेल्छ। अमोनियाले अन्य प्रदूषकसँग रासायनिक प्रतिक्रिया गर्दा माध्यमिक कण निर्माण हुने र प्रदूषण थप जटिल बन्ने उहाँको भनाइ छ।

यसैबीच, द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनले भारतमा सन् २००९ देखि २०१९ सम्म वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको देखाएको छ। यसले भारतमा वायु प्रदूषण गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको तथ्य उजागर गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय