सोमबार, कार्तिक ३०, २०८३
एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने, ओली र विद्यादेवी भण्डारीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।

पार्टीका अनुसार भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिको सहभागिता रहनेछ। एमालेले पार्टीको इतिहासमै पहिलोपटक सबै तहका नेतृत्व र जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर भेला आयोजना गर्न लागेको जनाएको छ।

माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। भेलामा पूर्वराष्ट्रपति तथा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे धारणा राख्नेछन्। त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी व्यवस्थित गर्ने उद्देश्यले भेला आयोजना गर्न लागेको जनाएको छ।

भेलामा पार्टीका विभिन्न तहका पदाधिकारी, जनसंगठनका प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ३ हजार ४१४ जनाको सहभागिता रहनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय