बुधबार, मंसिर ०२, २०८३
एमाले राष्ट्रिय भेलामा पार्टीका १४ समस्या पहिचान, सुधारका लागि महासचिव पोखरेलको प्रस्ताव

काठमाडौं । गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको नेकपा (एमाले) ले राष्ट्रिय कार्यकर्ता भेलामार्फत पार्टीको सांगठनिक अवस्था, आन्तरिक समस्या र आगामी कार्यदिशाबारे समीक्षा थालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दुईदिने राष्ट्रिय भेलामा एमालेको संगठनात्मक जीवनमा देखिएका १४ प्रमुख समस्या पहिचान गर्दै सुधारका लागि लिखित प्रस्ताव प्रस्तुत गरिएको छ ।

भेलामा पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएको, युवा पुस्तासँग संवादको कमी, डिजिटल उपस्थितिको कमजोरी, कमिटी प्रणालीको प्रभावकारिता र आन्तरिक लोकतन्त्रको अभ्यासलगायत विषयलाई प्रमुख समस्याका रूपमा औँल्याइएको छ ।

बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा नयाँ पुस्ताको रोजगारी, उद्यमशीलता, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, डिजिटल अवसर र राजनीतिक सहभागिताका विषयलाई युवाकै भाषा र माध्यमबाट सम्बोधन गर्न नसकिएको उल्लेख गरिएको छ ।

त्यस्तै, पार्टीका विचार, नीति र उपलब्धिलाई तथ्यमा आधारित भएर जनतासमक्ष पुर्‍याउन नसक्नु तथा गलत सूचना र एकतर्फी प्रचारको सामना गर्न सञ्चार संयन्त्र पर्याप्त सक्रिय हुन नसक्नुलाई पनि कमजोरीका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा कमिटी प्रणाली प्रभावकारी बनाउन, नेतृत्व विकास तथा पुस्तान्तरणलाई व्यवस्थित गर्न, आन्तरिक लोकतन्त्र बलियो बनाउन र गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । उम्मेदवार छनोटमा पारदर्शी मापदण्ड अपनाउन तथा जनप्रतिनिधिको कामको नियमित समीक्षा गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, वैदेशिक श्रम, सहरी गरिबी, मानसिक स्वास्थ्य, महिला सुरक्षा र युवा उद्यमजस्ता समसामयिक विषयमा पार्टीको स्पष्ट वैचारिक दृष्टिकोण र नीतिगत तयारी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि विभिन्न घेराबन्दी र चुनौती आए पनि पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए । उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पार्टीलाई पुनः बलियो बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।

ओलीले देश र जनताको पक्षमा काम गर्ने क्रममा आवश्यक परे शान्तिपूर्ण आन्दोलनमा जानसमेत तयार रहन कार्यकर्तालाई आग्रह गरे ।

भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेललगायत नेताहरूले पनि विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । भेलामा केन्द्रीय कमिटीदेखि स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित करिब तीन हजार पाँच सय प्रतिनिधिको सहभागिता रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय