बुधबार, मंसिर ०२, २०८३
शिर मेमोरियल अस्पतालको नवनिर्मित बहिरंग विभाग भवन उद्घाटन

काभ्रे । शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालमा निर्माण गरिएको बहिरंग विभागको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बनेपाका समाजसेवी राजभाई प्रधानको व्यक्तिगत खर्चमा निर्माण भएको २८ हजार वर्गफिट क्षेत्रफलको चारतले भवन बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्घाटन गरेका हुन् । सोही अवसरमा अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस वार्डको समेत मुख्यमन्त्री थापामगरले उद्घाटन गरेका छन् ।

दुई तले भवन निर्माण गर्ने योजनासहित काम सुरु गरिएको थियो । तर, अस्पतालको आवश्यकताका लागि दुई तले भवन पर्याप्त नहुने देखिएपछि प्रधानले थप दुई तला निर्माणका लागि सहयोग गरेका थिए । प्रधानकै जन्मदिनको अवसर पारेर उक्त भवन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

बनेपामा स्थायी घर भई हाल ललितपुरको बागडोलमा बस्दै आएका प्रधानले समाजका लागि केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तारमा सहयोग पुर्‍याउन भवन निर्माणमा लगानी गरेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वरलगायतका क्षेत्रमा समेत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचारका लागि रेडिएसन मेसिन जडान गर्न प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उक्त सेवा सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका क्यान्सर प्रभावित बिरामी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बदनकुमार भण्डारी, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल र रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य तथा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारीलगायतले दाता प्रधानको सामाजिक भावनाको प्रशंसा गर्दै अस्पतालको सेवा विस्तारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले सरकार, समाज र दाताहरूको सहयोगबाट अस्पतालले क्रमिक रूपमा सेवा विस्तार गर्न सफल भएको बताउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरिन् । त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रभा शाक्यले ६६ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा थपिएका नयाँ संरचनाले सेवा प्रवाहलाई थप व्यवस्थित, सहज, सुरक्षित र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरिन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय