शुक्रबार, मंसिर ०४, २०८३
सीमित बजेटमा विकासको अधिकतम प्रयास गरिरहेको छु : वडाअध्यक्ष उत्तम तिमल्सिना

धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उत्तमप्रसाद तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित हुँदै जनप्रतिनिधिको भूमिकामा प्रवेश गरेका हुन्। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका उनी पार्टीको १४औँ महाधिवेशनबाट वडा सभापतिको जिम्मेवारीमा समेत छन्।

सीमित बजेट र स्रोतसाधनका बाबजुद सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिरहेको तिमल्सिना बताउँछन्। नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, विकास निर्माणलाई गुणस्तरीय बनाउने र वडालाई व्यवस्थित तथा नागरिकमैत्री बनाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। यसै विषयमा वडाध्यक्ष तिमल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश :

० जनप्रतिनिधिका रूपमा तपाईंको मुख्य प्राथमिकता के हो ?

मेरो मुख्य प्राथमिकता नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु हो। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छु। चुनावमा पनि पूरा गर्न नसकिने ठूला आश्वासनभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने काम गर्ने प्रतिबद्धता गरेको थिएँ। उपलब्ध बजेट र स्रोतसाधनको अधिकतम उपयोग गर्दै त्यही प्रतिबद्धता पूरा गर्ने प्रयासमा छु।

० चुनावमा गरेका प्रतिबद्धता कति पूरा भयो ?

धेरैजसो प्रतिबद्धताअनुसार काम अघि बढाएका छौँ। केही योजना सम्पन्न भएका छन् भने केही कार्यान्वयनकै क्रममा छन्। सडक स्तरोन्नति, स्वास्थ्य सेवा, विद्यार्थी प्रोत्साहन र कृषकलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएका छौँ। तर बजेट र कानुनी प्रक्रियाका सीमितताले सबै काम सोचेअनुसार सम्पन्न गर्न सकिएको छैन।

० वडाको पूर्वाधार विकासमा के–कस्ता उपलब्धि हासिल भएका छन् ?

वडाका विभिन्न टोलमा सडक निर्माण, स्तरोन्नति, ढलान तथा कालोपत्रेको काम गरेका छौँ। पहिले कच्ची र धुलाम्मे रहेका कतिपय सडक अहिले व्यवस्थित बनेका छन्। विकास गर्दा धेरै ठाउँमा थोरै बजेट छर्नेभन्दा आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरेर गुणस्तरीय र दिगो काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। यसका लागि नगरपालिका र प्रदेश सरकारसँग समेत समन्वय गरिरहेका छौँ।

० विकास निर्माणका काम गर्दा मुख्य चुनौती के छ ?

मुख्य चुनौती सीमित बजेट र नागरिकका असीमित आवश्यकता हुन्। सबै टोलका माग एकैपटक पूरा गर्न सम्भव छैन। कतै सडक, कतै खानेपानी त कतै ढल निकासको समस्या छ। त्यसैले आवश्यकताका आधारमा योजना छनोट गर्ने र वडाको पहुँचभन्दा बाहिरका योजनाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरेका छौँ।

० शिक्षा क्षेत्रमा वडाको विशेषता के छ ?

हाम्रो वडामा सामुदायिक विद्यालय छैन। तर विश्वमै परिचित काठमाडौं विश्वविद्यालय यही वडामा अवस्थित छ। यो हाम्रो गौरवको विषय हो। विश्वविद्यालयमा अध्ययन गर्न चाहने वडावासी विद्यार्थीलाई आवश्यक सहजीकरण र अवसर उपलब्ध गराउन समन्वय गरेका छौँ। त्यसैगरी एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने र छात्रवृत्तिसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ।

० स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न के-के गरियो ?

नागरिकले सामान्य स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्था कम होस् भनेर वडामै स्वास्थ्य सेवा विस्तारमा जोड दिएका छौँ। स्वास्थ्य चौकीमार्फत सेवा दिनुका साथै विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ। हरेक महिनाको १४ गते धुलिखेल अस्पतालका चिकित्सकमार्फत सुगर र प्रेसर परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ। प्रत्येक महिनाको २१ गते बालबालिकाका लागि खोप तथा उपचार सेवा सञ्चालन हुन्छ। साथै वडालाई क्षयरोगमुक्त बनाउने अभियान पनि अघि बढाएका छौँ।

० सामाजिक सुरक्षा र नागरिकको जीवनस्तर सुधारका लागि कस्ता काम भएका छन् ?

विकास भनेको सडक र भवन निर्माण मात्र होइन। नागरिकको जीवन सहज बनाउनु पनि हो। ज्येष्ठ नागरिकका लागि तीर्थाटन, न्यानो कपडा र पौष्टिक आहार वितरण गरेका छौँ। अपांगता भएका व्यक्तिलाई आवश्यकताअनुसार ह्वीलचियर उपलब्ध गराउने, सुत्केरी महिलालाई पौष्टिक आहार तथा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ। दुःख र अप्ठ्यारोमा परेका परिवारलाई समेत सहयोग गर्ने प्रयास गरेका छौँ।

० यी कार्यक्रमबाट नागरिकले कस्तो लाभ पाएका छन् ?

नागरिकले स्थानीय तहमै स्वास्थ्य परीक्षण र सेवा पाएका छन्। विद्यार्थीले प्रोत्साहन पाएका छन् भने ज्येष्ठ नागरिक र अन्य लक्षित वर्गले स्थानीय सरकार आफ्नो साथमा रहेको अनुभूति गर्नुभएको छ। नागरिकबाट सकारात्मक प्रतिक्रिया पनि पाएका छौँ। गुनासा र सुझावलाई समेत विकासका लागि आवश्यक मार्गदर्शनका रूपमा लिने गरेका छौँ।

० तपाई नेपाली कांग्रेसको वडा सभापति पनि हौ। पार्टीको जिम्मेवारी र जनप्रतिनिधिको भूमिकालाई कसरी सन्तुलनमा राख्ने गरेको छ ?

पार्टीको जिम्मेवारी र जनप्रतिनिधिको भूमिका फरक भए पनि दुवैको उद्देश्य जनताको सेवा नै हो। पार्टीको जिम्मेवारीमा संगठन निर्माण र पार्टीका गतिविधि सञ्चालन गर्नुपर्छ। जनप्रतिनिधिका रूपमा भने सबै नागरिकको साझा प्रतिनिधि भएर काम गर्नुपर्छ। म नेपाली कांग्रेसबाट निर्वाचित भए पनि वडाको विकास र सेवा प्रवाहमा राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव गरेको छैन।

० कार्यकालको अन्तिम चरणमा छौ। बाँकी समयमा के–कस्ता कामलाई प्राथमिकता दिने योजना छ ?

कार्यकाल सकिन लाग्दैमा जिम्मेवारी सकिँदैन। सुरु गरेका अधुरा योजना सम्पन्न गर्ने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कामलाई प्राथमिकता दिनेछौँ। बजेट र प्रक्रियाका कारण ढिलाइ भएका योजनालाई अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ। उपलब्ध समय र स्रोतसाधनको अधिकतम उपयोग गर्ने हाम्रो प्रयास रहनेछ।

० आगामी दिनमा वडालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

वडालाई अझ व्यवस्थित, सुविधासम्पन्न र नागरिकमैत्री बनाउने मेरो चाहना छ। सडक, शिक्षा, स्वास्थ्य र कृषिसँगै खानेपानी, ढल निकास, वातावरण संरक्षण र व्यवस्थित बस्ती विकासमा ध्यान दिनुपर्छ। कृषि र स्थानीय आयआर्जनका अवसर पनि विस्तार गर्नुपर्छ। आफूले सुरु गरेका राम्रा कामलाई आगामी नेतृत्वले समेत निरन्तरता दिने आधार तयार पार्न सकियो भने त्यो महत्त्वपूर्ण उपलब्धि हुनेछ।

० अन्त्यमा ?

मलाई विश्वास गरेर जिम्मेवारी दिनुहुने सम्पूर्ण वडावासीप्रति आभारी छु। यहाँहरूको साथ, सहयोग, सुझाव र खबरदारीले काम गर्ने ऊर्जा दिएको छ। वडाको विकास एक जनप्रतिनिधिले मात्र सम्भव हुँदैन। त्यसका लागि नागरिक, जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सबै निकायबीच सहकार्य आवश्यक छ। आगामी दिनमा पनि वडाको विकास र नागरिकको हितका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।

सिफारिस

ताजा समाचार

लोकप्रिय