शनिबार, मंसिर ०५, २०८३
सुदूरपश्चिमको ऐतिहासिक जित, पहिलोपटक बन्यो एनपीएल च्याम्पियन

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि पहिलोपटक जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले ऐतिहासिक सफलता हासिल गरेको हो।

तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य कुनै विकेट नगुमाई मात्र १३.३ ओभरमा पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा जर्ज मन्से नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ४९ बलमा अविजित १२५ रन बनाए। उनको इनिङ्समा १२ छक्का र ८ चौका सामेल थिए। अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिए।

मन्सेको विस्फोटक ब्याटिङका कारण सुदूरपश्चिमले फाइनलमा एकपक्षीय जित निकाल्यो। उनी एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसम्म बने।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ तथा डार्सी शर्टले २१ रन जोडे।

लुम्बिनीलाई मध्यम योगफलमा रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगलेइनले सर्वाधिक दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक विकेट हात पारे।

उपाधिसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएको छ। तेस्रो संस्करणसम्म आइपुग्दा सुदूरपश्चिमले अन्ततः उपाधिमा आफ्नो नाम लेखाउँदै एनपीएलमा नयाँ इतिहास रचेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय