काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने औपचारिक भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत जान लागेका हुन्।
प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै होटल ताज मानसिंह जानेछन्। त्यहाँ साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
भ्रमणमा नेपाल–भारत आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास तथा विभिन्न विकास आयोजनालाई प्राथमिकतामा राखिएको छ। एक दर्जनभन्दा बढी परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेपाली दूतावासले जनाएको छ।
विशेषगरी भैरहवा र महेन्द्रनगरलगायत स्थानबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई नेपालले महत्त्व दिएको छ। यस विषयमा भारतसँग सहमति जुटाउने प्रयास भइरहेको छ। साथै अयोध्या–जनकपुर रेलमार्ग, पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी उद्घाटन गर्ने तयारी छ।
यसैगरी अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास तथा सूचना प्रविधि, बन्दरगाहलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी सोमबार नै स्वदेश फर्किने तालिका रहेको छ।




