आइतबार, मंसिर ०६, २०८३
चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढे, एक सातामा १,१८० बाहिरिए

सोलुखुम्बु । हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रको पर्यटन गतिविधि क्रमशः घट्न थालेको छ। पछिल्लो एक सातामा हवाई मार्गबाट खुम्बु क्षेत्र छोड्ने पर्यटकको संख्या त्यहाँ प्रवेश गर्ने पर्यटकको तुलनामा दोब्बरभन्दा बढी देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो सात दिनमा १ हजार १८० पर्यटक हवाई मार्गबाट खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ जना प्रवेश गरेका छन्। बाहिरिने पर्यटकको संख्या प्रवेश गर्नेभन्दा ६५१ ले बढी रहेको छ।

बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली रहेका छन्। त्यस्तै, प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक छन्।

स्थानीयका अनुसार नाम्चे क्षेत्रमा रातिको तापक्रम माइनसमा झर्न थालेपछि पानी जम्न थालेको छ। चिसो बढेसँगै पर्यटकहरू तल्लो क्षेत्रतर्फ फर्किन थालेका हुन्।

सामान्यतया असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने सगरमाथा क्षेत्रमा शरद् पर्यटन सिजन मङ्सिरसँगै सकिँदै जाने भएकाले होटल, पदयात्रा तथा अन्य पर्यटन व्यवसायमा समेत गतिविधि घट्न थालेको छ।

प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा ६९ वटा विमान र २८ वटा हेलिकप्टर उडान भएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय