आइतबार, मंसिर ०६, २०८३
गायनदेखि निर्देशन र सम्पादनसम्म विक्रम सुवालकै सिर्जना, ‘बाँचिरहे आज’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा गायक तथा संगीतकार विक्रम सुवालको नयाँ सांगीतिक प्रस्तुति ‘बाँचिरहे आज’ (Bachirahe Aaj) को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विछोड, जीवनको संघर्ष र मनभित्र लुकेका भावनात्मक पीडालाई समेटिएको यस गीतले दर्शक तथा स्रोतामाझ भावनात्मक छाप छोड्ने अपेक्षा गरिएको छ।

यस गीतको विशेष पक्ष भनेको गायन र संगीत सिर्जनासँगै म्युजिक भिडियो निर्माणका महत्वपूर्ण जिम्मेवारीसमेत विक्रम सुवाल आफैँले सम्हाल्नु हो। गीतमा उनको स्वर तथा संगीत रहेको छ भने शब्द रचना ध्रुव ताम्राकारले गरेका छन्। गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन्। त्यस्तै, शम्भु तण्डुकारले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

म्युजिक भिडियोमा मानबहादुर गोले र लक्षु सुवालको अभिनय रहेको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन विक्रम सुवाल स्वयंले गरेका हुन्। यसरी एउटै सिर्जनामा गायक, संगीतकार तथा भिडियो निर्देशकका रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै सुवालले सांगीतिक क्षेत्रमा आफ्नो सिर्जनात्मक सक्रियतालाई थप अगाडि बढाएका छन्।

प्रेम र सम्बन्धका अनेक आयाम, विछोडको पीडा तथा जीवनका आरोह-अवरोहलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोले गीतको भावलाई दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास गरेको छ।

प्रज्ञा साउन्डमा तयार गरिएको यस गीतलाई विक्रम सुवालको आफ्नै आधिकारिक YouTube च्यानल Bikram Suwal मार्फत सार्वजनिक गरिएको हो। आफ्नै स्वर, संगीत र सिर्जनात्मक सोचलाई दृश्यसँग जोड्दै तयार पारिएको ‘बाँचिरहे आज’ विक्रम सुवालको सांगीतिक यात्राको अर्को महत्वपूर्ण प्रस्तुति बनेको छ।

नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहँदै आएका सुवाल गायन, संगीत सिर्जना, संगीत संयोजन तथा संगीत शिक्षणमा समेत संलग्न छन्। आफ्ना मौलिक सिर्जनामार्फत श्रोतामाझ पुग्ने प्रयासमा रहेका उनले यसपटक ‘बाँचिरहे आज’ मार्फत प्रेम र पीडाको भावनात्मक कथा प्रस्तुत गरेका छन्।

‘बाँचिरहे आज’ को आधिकारिक म्युजिक भिडियो YouTube मा Bikram Suwal च्यानलमार्फत हेर्न सकिन्छ। गीत हेरेर, सुनेर तथा आफ्नो प्रतिक्रिया र मायामार्फत साथ दिन निर्माण पक्षले दर्शक तथा स्रोतासँग आग्रह गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय