सोमबार, भाद्र ०८, २०८३
‘पारी बुटवल’को दोस्रो चरणको छायाङ्कन सुरु

काठमाडौँ । विगत माघ महिनामा सुटिङ फ्लोरमा गएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पारी बुटवल’ को दोस्रो सेड्युलको तयारी तीव्र पारिएको छ।

देशको चुनावी माहोल तथा निर्वाचन आचारसंहिताका कारण पहिलो चरणको छायाङ्कन स्थगित गर्दै काठमाडौँ फर्किएको चलचित्रको निर्माण पक्ष मनसुन सिजनलाई लक्षित गर्दै पुनः काममा फर्किएको हो। लोकेसन मिलाउन र पूर्वतयारीका कामहरू सम्पन्न गर्नका लागि प्रोडक्सन टोली बुटवल पुगिसकेको छ भने निर्देशक तथा कलाकारहरू पनि छायाङ्कनका लागि बुटवल जाने अन्तिम तयारीमा छन्।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र उदाहरणीय कार्य गरिसकेका प्रतिभावान निर्देशक गणेश देव पाण्डेको निर्देशनमा यो चलचित्र निर्माण भइरहेको छ। निर्माता ल्याक्सी श्रेष्ठको लगानीमा निर्माण भइरहेको यस चलचित्रमा निर्देशक पाण्डेले रङ्गमञ्चबाट उदाएका दिग्गज तथा उर्जावान् कलाकारहरूलाई रोजेका छन्।

यसै गरी, विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व निर्देशन गर्दै आउनुभएका अद्वितीय एक्सन निर्देशक एनबी महर्जनले यस चलचित्रको एक्सन निर्देशन सम्हाल्नुभएको छ। उनको धमाकेदार एक्सन कोरियोग्राफीमा अभिनेत्री निरीक्ष्या घटाने मुख्य ‘लेडी फाइटर’को दमदार रूपमा देखिँदै छिन्, जसले चलचित्रको एक्सन पक्षलाई अझ रोमान्चक बनाउनेछ।

चलचित्रमा अनुप बराल, सुशील सिटौला, दिया मास्के, प्रशान्त शर्मा ढकाल, सुदीप खतिवडा, किरण श्रेष्ठ, कुशल पाण्डे, तुफान थापा, निरीक्ष्या घटाने तथा दिव्य देव लगायतका शीर्ष कलाकारहरूको दमदार अभिनय रहनेछ। सिनियर तथा सशक्त कलाकारहरूको अभिनय र उत्कृष्ट कथावस्तुको संयोजनले गर्दा यो चलचित्रप्रति दर्शकको उत्सुकता निकै बढेको छ।

ग्याङ्स्टर जनरामा आधारित यस चलचित्रमा पैसा, पावर (शक्ति) र आत्मीय सम्बन्धहरूबीचको जटिल तानाबाना र सङ्घर्षको कथालाई मुख्य खुराकका रूपमा प्रस्तुत गरिएको छ।

बुटवलको यो दोस्रो चरणको छायाङ्कनको काम द्रुत गतिमा सम्पन्न गरी आउँदो तिहारको शुभ अवसरमा चलचित्रलाई देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा ल्याउने सोच निर्देशक पाण्डे र निर्माता श्रेष्ठको रहेको छ। उत्कृष्ट कथा, दमदार एक्सन र सशक्त कलाकारहरूको अभिनय रहेको ‘पारी बुटवल’ले नेपाली रजतपटमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय