काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई मधेश र समग्र देशकै लागि गौरवको क्षण भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले विचार, असहमति र राजनीतिक दल फरक भए पनि सम्पूर्ण मधेश प्रधानमन्त्री शाहप्रति गौरवान्वित रहेको बताएका हुन्। उनले विश्वका शक्ति राष्ट्रहरू पनि मधेशी प्रधानमन्त्रीसँग उभिनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
नेपालको पौने तीन सय वर्षको इतिहासमा मधेश र मधेशीलाई शासनको बागडोरमा निषेध गरिएको उल्लेख गर्दै राउतले बालेन प्रधानमन्त्री बन्नु नै पहिलो गौरवको विषय भएको बताएका छन्।
उनका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वले मधेश र मधेशी समुदायमा आत्मविश्वास बढाउनुका साथै विश्व राजनीतिमा मधेशको पहिचान र पहुँच स्थापित गर्न मद्दत गरेको छ।
राउतले प्रधानमन्त्री शाहलाई धन्यवाद दिँदै अब विश्वका कुनै पनि शक्ति केन्द्रले मधेशलाई उपेक्षा गर्न नसक्ने धारणा व्यक्त गरेका छन्।




