काभ्रे । नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ।
राजकुमार महासत्त्वले भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेको किंवदन्तीसँग जोडिएको यस जात्रामा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुनेछन्।
कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज रातभर दिवङ्गत पितृहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिनेछ। भोलि पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ।
मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। भक्तजनको सहजताका लागि यातायात, सरसफाइ र सुरक्षा व्यवस्थापनको तयारीसमेत गरिएको छ।
जात्रामा काभ्रेसहित काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाबाट हजारौँ भक्तजन र आन्तरिक पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।




