धुलिखेलमा फिटनेस एण्ड क्यालिसथेनिक्स सेन्टर स्थापना

काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिकामा फिटनेस एण्ड क्यालिसथेनिक्स सेन्टर स्थापना गरिएको छ । धुलिखेल अस्पताल र जिल्ला प्रहरी कार्यालयको सहयोगमा प्रोजेक्ट टेम्पलले सेभेन्थ साइट धुलिखेलको फिटनेस एण्ड क्यालिसथेनिक्स सेन्टर स्थापना गरिएको हो ।

स्वस्थ सहर बनाउने अभियानमा धुलिखेल नगरपालिकाले उपलब्ध गराएको खुल्ला स्थानमा स्थापना गरिएको उक्त सेन्टरको शुभारम्भ धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गरेका हुन् ।

धुलिखेल अस्पतालले १ लाख ५० हजार र जिल्ला प्रहरी कार्यालय काभ्रेले ५० हजार सहयोग गरी दुई लाख रुपैयाँमा निर्माण भएको उक्त व्यायाम सेन्टरले विशेष गरी युवाहरूका लागि नियमित व्यायाम गर्न सहज बनाउनेछ । उक्त अभियानका तर्फबाट दैनिक र साप्ताहिक रूपमा व्यायामका कक्षाहरू सञ्चालन हुनेछन् ।

व्यक्तिलाई स्वास्थ्य मार्फत आत्म अनुशासन कायम राख्न उक्त व्यायाम अभ्यासले सहज बनाउने बताउँदै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भने, ‘धुलिखेल स्वस्थ सहर बनाउने अभियान अन्त्रगतको उक्त कार्यक्रमले थप सहजता प्रदान गर्नेछ । मर्निङ्ग वाक जानेहरूका लागि खुल्ला जिम सेन्टर तथा व्यायाम सेन्टरले सहज हुनेछ ।’

व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउन उक्त अभियानले शुरु गरेको ब्यायाम केन्द्र महत्त्वपूर्ण भएकाले प्रहरी कार्यालयको तर्फबाट सहयोग उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। उनका अनुसार सेन्टरमा पुलअफ, चिनअप, डिपवार, सिटअप लगायतका अभ्यासका लागि सहज हुनेछ ।

व्यायाम कक्षामा सिकेका कुरालाई व्यवहारमा अभ्यास गर्न उक्त सेन्टर आवश्यक रहेको सेन्टरका अध्यक्ष सुकदेव कार्कीले बताए। उनका अनुसार १४ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूका लागि प्रशिक्षण तथा प्रयोगात्मक अभ्यासका लागि उक्त सेन्टर महत्त्वपूर्ण हुनेछ ।

काभ्रे, काठमाडौँ, ललितपुर, पोखरा, चितवन, विराटनगर, सुर्खेत, नेपालगञ्ज र रुपन्देहीका १५ स्थानमा यस्ता व्यायाम सेन्टर खुलिसकेको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिसथेनिक्सले गरेको उक्त अभियान नेपालका ९ वटा जिल्लाको १५ स्थानमा शुरु हुनेछ । धुलिखेलमा शुभारम्भ भएको फिटनेस एण्ड क्यालिसथेनिक्स सेन्टर सातौँ हो ।

 

 

 

 

 

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय