काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका–७, सिखपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले आइतबार राति उनीहरूलाई जुवाको खालबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६१ हजार ५९० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–७ का ४७ वर्षीय सुवास दंगाल, ४२ वर्षीय ज्ञानबहादुर मिजार, ५३ वर्षीय नवराज ढकाल, ५२ वर्षीय लेखबहादुर मिजार, ४० वर्षीय विनोद ढकाल, ५७ वर्षीय रामभक्त खड्का र महेश ढकाल रहेका छन्।
त्यसैगरी पाँचखाल नगरपालिका–४ का २७ वर्षीय विकास रिजाल, खानीखोला गाउँपालिका–५ का ३० वर्षीय आकाश तामाङ तथा मकवानपुरको बागमती गाउँपालिकाका ४६ वर्षीय भक्तबहादुर वाईबा र २२ वर्षीय सुकराम बल पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रबिन विष्टले जानकारी दिए ।

