काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज देशभर गाईपूजा गरी मनाइँदैछ। गाईलाई गौमाताका रूपमा सम्मान गर्दै बिहानैदेखि पूजा आराधना गरी मीठा परिकार खान दिने तथा माला लगाइदिने परम्परा रहेको छ।
हिन्दू धर्म र संस्कृतिमा गाईलाई लक्ष्मीको प्रतीक तथा राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले यसको विशेष महत्व रहेको छ।
कतिपय ठाउँ तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
यसअघि तिहारको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मीपूजा मनाइएको थियो। आज गाईपूजा गरेसँगै भोलि गोवर्धन पूजा, गोरु पूजा, बलिपूजा, हलितिहार तथा नेवार समुदायको म्हपूजा मनाइनेछ। साथै भोलिदेखि नेपाल संवत् ११४७ को शुभारम्भ हुनेछ।

