नियम मिचेर हतारमा सुटिङ गर्दै सलमान
महाराष्ट्रमा कोरोना महामारी बढेपछि सामूहिक भेलामा रोक लगाइएको छ । अत्यावश्यक काम परेको खण्डमा २५ भन्दा बढी भेला हुन नपाउने नियम महाराष्ट्र सरकारले अनिवार्य लगाएको छ ।
यही नियम पालना गर्दै फिल्म छायांकन रोकिन थालेको छ । तर, अभिनेता सलमान खान नियम अटेर गर्दै ‘टाइगर–३’को बाँकी छायांकन गरिरहेका छन् । कोरोना महामारीका कारण लकडाउन हुने अवस्था आएपछि सलमानले बाँकी छायांकन चाँडै सक्न नियम मिचेका हुन् । अहिले सो फिल्म छायांकन सक्न उनलाई निकै हतारो छ । अन्य फिल्म तथा प्राविधिक कोभिडको सिकार भएपछि सलमानले आफ्नो फिल्म छायांकनमा कोभिडसम्बन्धी सतर्कता नियम कडा रूपमा पालना गराएका हुन् ।
आफूहरूले कोरोनाविरुद्धको नियम भंग नगरेको र पूर्णसुरक्षित भएर काम गरेको सलमानले बताएका छन् । फिल्म चाँडै सक्ने उनको कथन छ ।अहिले सलमान खान र इमरान हासमी ‘क्लाइमेक्स फाइट’ सुटिङ गर्दै छन् । ‘कोरोना संक्रमण नहोस्’ भनेर फिल्म युनिटलाई बाहिरी मान्छेसँग भेटघाट गर्न दिइएको छैन ।
सबैको कोरोना परीक्षण गरेर मात्र छायांकन टिममा सलमानले समावेश गराएका छन् । अब छायांकन सकिएपछि मात्र टिमले अन्यसँग भेटघाट गर्न पाउनेछन् ।