उपत्यकाबाट चोरीएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं – काठमाडौं उपत्यकाबाट चोरीएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले खोजेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले आज (बिहीबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
महाशाखाका एसएसपी भट्टराईका अनुसार १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीहरुलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पशुपतिनाथ क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो र कलंकीबाट हराएका मोटरसाइकल प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।
ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइले हराएका मोटरसाइकलबारे अनुसन्धान गर्छन् । महाशाखाले सुरक्षित ठाउँमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अलर्ट सिस्टमको प्रयोग गर्न सवारी प्रयोगकर्तालाई आग्रह गरेको छ ।