अवैध लागूऔषध सहित ६ जना पक्राउ
कास्की – कास्की जिल्लाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय आशिष अर्याल, पोखरा महानगरपालिका-१३ काउँखोला बस्ने २५ वर्षीय अनिष खत्री र बाग्लुङ, बाग्लुङ नगरपालिका-८ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरुमध्ये अर्याललाई पोखरा महानगरपालिका-२५ हेम्जाबाट नियन्त्रित लागूऔषध ६५ एम्पुल डाईजापाम, ६८ एम्पुल फेनारगन र ७३ एम्पुल नर्फिन, खत्रीलाई सोही महानगरपालिका-३० पावरहाउसबाट नियन्त्रित लागूऔषध १५ एम्पुल डाईजापाम, १५ एम्पुल फेनारगन र १५ एम्पुल नर्फिन र किशोरलाई सोही ठाउँबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल डाईजापाम, ३२ एम्पुल फेनारगन र ३२ एम्पुल नर्फिन सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगाबाट करिब ४५ किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका-५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ रहेका छन् ।
बोरा बोकी हिँडिरहेका ३ जनाले ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ बोरा फाली भाग्न खोज्दा थापा र गुरुङलाई नियन्त्रणमा लिएर बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२१ पुरैनीबाट २४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपलिका-६ फुलटेग्रा बस्ने २१ वर्षीय प्रमोद सोनखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।