‘संविधान कार्यान्वयन हुन नसक्नु नै देशको प्रमुख समस्या’ : मन्त्री ढकाल
काभ्रे (धुलिखेल) – संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु नै देशको अहिलेको प्रमुख समस्या भएको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बताएका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति धुलिखेल काभ्रेको १५ औँ वार्षिकोत्सव तथा छैठौँ अधिवशेनलाई सम्बोधन गर्दै मन्त्री ढकालले संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु नै देशको प्रमुख समस्या रहेको बताएका हुन् ।
‘अहिलेको मुख्य समस्या भनेकै संविधान कार्यान्वयन गर्ने अथवा संविधानलाई असफल बनाउने ?,’ मन्त्री ढकालले भने, ‘संविधानमा भएका सबै कुरालाई राजनितिक पार्टीले कार्यान्वयन गरेका छन् त ? स्वीकार गर्न सकेका छन् त ? के हामी गणतन्त्रप्रति प्रतिबद्ध छौँ ? के हामी संघीयताप्रति प्रतिबद्ध छौँ ? के हामी समानुपातिक र समावेशीताको अधिकारप्रति प्रतिबद्ध छौँ ? यदी हामीले यी कुरालाई आत्मसाथ गर्न सक्यौँ भने हाम्रा धेरै समस्याहरु समाधान हुन्छन् ।’
यी कुराले राजनितिक पार्टीको मूल्याङकन र परीक्षण हुने उनले बताए । यो परीक्षामा हामी कति सफल र कति असफल भएका छौँ भन्ने कुरा विगत ४ वर्षले देखाइसकेको उनले भने । हामी कति संविधान कार्यान्वयनतर्फ लाग्यौँ ? संघीयतालाई मजबुद बनाउन हामी कति सक्षम भयौँ भन्ने कुरा ४ वर्षले स्पष्ट पारेको उनले बताए ।
‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नुपर्छ भनेर हाम्रो संविधानमा लखिएको छ,’ उनले भने, ‘ त्यो समाजवाद उन्मुख अर्थतन्त्र विकासको लागि देशलाई आत्मनिर्भर बनाउनुपर्छ । देशमा आत्मनिर्भर अर्थतन्त्रको विकास नगरी समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गर्न सकिदैँन । यसका लागि सबै आयातित वस्तुहरुलाई रोक्दै स्थानीय उत्पदानलाई प्रर्बद्धन गर्नुपर्छ । पुँजीको अधिकतम विकास गरेर मात्रै मुलुकलाई सम्बृद्ध बनाउन सकिन्छ ।’
‘देशमा अहिले जुन प्रकारको परिवर्तन भएको छ , त्यो राजनितिक परिवर्तनलाई संस्थागत रुपमा अगाडी लग्दै सँग–सँगै देशको विकास गर्दै मुलुकलाई सम्बृद्ध बनाउनुपर्ने हुन्छ’, उनले भने, ‘ राजनितिक पार्टीको दायित्व भनेकै संविधानमा उल्लेख भए अनुसारको कुरालाई कार्यान्वयन गर्न सक्नुपर्छ,’ उनले भने ।
मन्त्रीको ढकालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रका महासचिव कृष्ण प्रसाद दाहाल, मालपोत अधिकृत नविन किशोर अधिकारी, नापी अधिकृत सुरेश मानन्धर, काभ्रे घर जग्गा महासंघका महासचिव गणेश कुमार तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।