बाघको आक्रमणबाट एक बृद्ध घाइते
शनिबार, पौष २४, २०७८ | २१:०५:२४
नवलपरासी – बाघको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । बाघको आक्रमणबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाल घाइते भएका हुन् ।
भुलपानी चौरमा गाई चराउन गएको क्रममा कुमाललाई आज दिउँसो बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए । उनका अनुसार कुमालको अवस्था चिन्ताजनक रहेको छ ।
बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यबिन्दुमा सामान्य उपचार पछि भरतपुर रिफर गरिएको प्रहरी निरीक्षक पन्तले बताए ।