
काभ्रेमा निजी क्षेत्रको लगानीमा पहिलो मल्टिस्पेशलिस्ट भोमी अस्पतालले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । जिल्लामै पहिलो पटक यस अस्पतालबाट मल्टिडिसिप्लिनरी टिम र सामूहिक अभ्यासमार्फत सेवा प्रदान गराउँदै आइरहेको छ । हरेक विषयको छुटछुट्टै विशेषज्ञबाट सेवा प्रवाहका लागि २४ घण्टा नै नागरिकको स्वास्थ्य सुरक्षाका लागि भोमी अस्पताल पहरेदारको रुपमा खडा भएको छ ।
कोरोना महामारीको समयमा नागरिकको जीवन रक्षाको सहयात्री भनेर भोमी अस्पताल सञ्चालनमा आएकोे थियो । स्थापनाकालदेखि नै नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै आएको अस्पतालले स्वास्थ्य रक्षाका लागि उत्तरदायि भूमिका निर्वाह गर्दै आएको छ ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पहिलो प्राथमिकता दिदैँ आएको अस्पतालले यहाँका सर्वसाधरणलाई उपचारमा सहजता प्रदान गर्नका लागि स्वास्थ्यका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै अस्पतालले यस नयाँ वर्ष २०७९को सुरुवातसँगै नागरिकलाई आजीवन स्वास्थ्य सेवा प्रवाह गर्नका लागि भोमी साहारा कार्डको कार्यक्रमलाई अगाडी सारेको छ । नागरिकलाई आजीवन स्वास्थ्य उपचारमा सहजता प्रदान गर्नका लागि भोमीले साहारा कार्ड कार्यक्रमको सुरुवात गरेको हो ।
के हो भोमी साहारा कार्ड ?
भोमी साहारा कार्ड भनेको अस्पतालले एक व्यक्तिलाई आजीवन स्वास्थ्य सेवा प्रवाह गर्न उपलब्ध गराउने कार्ड हो । जुन कार्डको प्रयोगका लागि व्यक्तिले अस्पतालको भोमी साहारा सदस्य बन्नु पर्ने हुन्छ । भोमी साहारा सदस्य बन्नका लागि कुनै उमेर हद तोकिएको छैन । जुनसुकै उमेर समूह पनि यस भोमी साहाराको सदस्य बन्न पाउने छन् ।
जीवनभर स्वास्थ्यप्रति अभिभारा : भोमीको साहारा
भोमी साहाराको सदस्य बन्नको लागि सदस्यता दर्ता गर्नुपर्ने हुन्छ । जसका लागि प्रति व्यक्तिले ५ हजार रुपैँयाको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त शुल्कमा सदस्यता दर्ता कार्ड, सदस्यता कार्ड शुल्क र होल बडी प्याकेजलाई समावेश गरिनेछ ।
भोमी साहारा सदस्यमा दर्ता भएका बिरामीले अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै भोमी साहारा सदस्यमा दर्ता भएका बिरामीलाई अस्पतालको औषधी विभागबाट प्रवाह हुने सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
अशक्त एवं गम्भिर प्रकारको रोगका बिरामीलाई अस्पतालसम्म पुग्न असहज हुने कुरालाई मध्यनजर गर्दै अस्पतालले साहारा सदस्यका बिरामीलाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराएको छ । अस्पतालले अहिले उक्त सेवा बनेपा, धुलिखेल र पनौती क्षेत्रको लागि मात्र उपलब्ध गराएको छ । माग भए अनुसार अन्य क्षेत्रमा पनि अस्पतालले एम्बुलेन्स सेवा प्रवाह गर्ने योजना बनाएको छ ।
घरदैलोमै स्वास्थ्य सेवा
भोमी साहारामा सदस्यमा दर्ता भएका अशक्त एंव गम्भिर प्रकृतिको रोग भएका बिरामीलाई अस्पतालले घरदैलो सेवाको पनि व्यवस्था गरेको छ । जसमा अस्पतालका चिकित्सकहरु बिरामीको घरमै पुगेर नमूना (रगत) संकलन गर्नेछन् ।
जिल्लाकै पहिलो मल्टिस्पेशलिस्ट भोमी अस्पतालले स्थापनाकालदेखि नै सम्पूर्ण रोगको विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउँदै आएको छ । यस कार्डका सदस्यहरुलाई पनि अस्पताबाट प्रवाह हुने सबै सेवाहरु विशेषज्ञ चिकित्सकहरुबाट गराइनेछ ।
आजीवन स्वास्थ्य रेकर्ड सुरक्षित
अस्पतालको पूर्जि कागज हराएर धेरैले समस्या भोग्नु परिरहेको हुन्छ । तर भोमी साहारा कार्डका बिरामीलाई भने यो समस्या झेल्नु पर्दैैन । भोमी साहारा कार्ड प्रविधिमैत्री रहेकाले भोमी साहारा सदस्य बिरामीको सम्पूर्ण मेडिकल डाटा अस्पतालमा सुरक्षित राखिएको हुन्छ । यो कार्ड डिजिटल हुने भएकाले भोमी साहारा सदस्यका बिरामीको मेडिकल रेकर्ड पनि डिजिटल रुपमा सुरक्षित राखिएको हुन्छ ।
यो सेवा भोमी साहारा कार्ड सदस्यहरुको जीवनभरको लागि मान्य हुनेछ । तर प्रत्येक वर्ष कार्डको नविकरण भने गर्नुपर्नेहुन्छ । भोमी साहारा कार्ड दर्ता भएको प्रथम वर्ष दर्ता भएपछि सो दिनदेखि एक वर्षसम्मको लागि मान्य हुनेछ । भोमी साहारा कार्डको म्याद सकिने मितिभन्दा अगाडी नै नविकरण गरिसक्नु पर्नेछ ।
भोमी साहारा कार्डको नविकरणको लागि प्रति व्यक्ति ५ सय रुपैँया तिर्नुपर्ने हुन्छ । यदि म्याद सकिएको मितिभन्दा पछाडी नविकरण गरेमा १५ सय रुपैँया तिर्नुपर्नेहुन्छ । म्याद सकिने मिति अगाडी वा म्याद सकिएपछि कार्ड नविकरणका साथै होल बडी प्याकेजको लागि प्रति व्यक्ति २५ सय रुपैँया मात्र तिरे पुग्छ ।
भोमी साहारा सदस्यका बिरामीले प्रत्येक पटक अस्पताल आउँदा भोमी साहारा कार्ड अनिवार्यले साथ लिएर आउनुपर्ने हुन्छ । कार्ड नभएमा अस्पतालले उपलब्ध गराएको कार्डको कोड नम्बरबाट पनि सेवा लिन सकिनेछ । यदि कोड नम्बर र कार्ड नभएको वा नल्याएको खण्डमा अस्पतालले छुटको व्यवस्था गराउने छैन ।
त्यस्तै बिरामी भर्ना गर्नु परेमा वा साधारण चेकजाँचका लागि आउँदा कार्डको म्याद सकिएको भएमा अस्पतालबाट कुनै पनि सेवामा छुट पाइने छैन । बिरामीले सेवा अनुसारको मूल्य तिर्नु पर्नेछ । सो कार्डको सेवा अस्पतालभित्रबाट प्रवाह हुृने स्वास्थ्य सेवाका लागि मात्र लागू हुनेछ । यदि अस्पतालले सिफारिस गरेको खण्डमा अन्य स्थानबाट सेवा लिनु परेमा सो शुल्कमा भने छुटको व्यवस्था गरिएको छैन ।
कुनैपनि जाँच गर्नका लागि भोमी अस्पतालका चिकित्सकहरुद्वारा स्विकृत गरिएको पूर्जीहरुलाई मात्र स्वास्थ्य सेवामा छुटको व्यवस्था गरिएको छ । अन्यथा अस्पतालले स्वास्थ्य परीक्षण र औषधीमा छुटको व्यवस्था गर्ने छैन ।
नयाँ वर्षलाई लक्षित गर्दै अस्पतालले भोमी साहारा कार्डसँगै अस्पतालका कर्मचारीहरुका लागि पनि अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारी तथा कर्मचारीका परिवारलाई १०० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।