काभ्रेका १३ स्थानीय तहमा ३१ करोड बढी बेरुजु
काभ्रे : आर्थिक वर्ष २०७७/७८ मा काभ्रेका १३ स्थानीय तहमा ३१ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७७८ मा ३१ करोड ४० लाख ७८ हजार बेरुजु रकम देखिएको छ ।
प्रतिवेदन अनुसार जिल्लाका १३ वटा स्थानीय तहमध्ये प्रतिशतको आधारमा महाभारत गाउँपालिकाको बेरुजु बढी रहेको देखिन्छ । गाउँपालिकाको ४.६० प्रतिशत बेरुजु रहेको छ । प्रतिवेदनअनुसार महाभारत गाउँपालिकाले ८५ करोड २७ लाख ११ हजारको लेखापरीक्षण गरेकोमा तीन करोड ९२ लाख बेरुजु रहेको छ ।
त्यस्तै जिल्लामा रहेका ६ वटा नगरपालिकामध्ये प्रतिशतको आधारमा मण्डनदेउपुर नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । जहाँ २.७१ प्रतिशत बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ७६ करोड ६५ लाख १८ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा चार करोड ७८ लाख १९ हजार बेरुजु देखिएको हो ।
जिल्लाको पनौती नगरपालिकामा सबैभन्दा कम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार पनौती नगरपालिकाको ०.६८ प्रतिशत बेरुजु रहेको छ । दुई अर्ब १५ करोड ८५ लाख ९१ हजारको लेखापरीक्षण भएकोमा नगरपालिकाको बेरुजु एक करोड ४५ लाख ९१ हजार छ ।
प्रतिवेदन अनुसार जिल्लाको रोशी गाउँपालिकाको १.०२ प्रतिशत रहेको छ । एक अर्ब २२ करोड २५ लाख ३८ हजारको लेखापरीक्षण गर्दा एक लाख २४ लाख ७३ हजार बेरुजु देखिएको छ । त्यस्तै पाँचखाल नगरपालिकाको ० दशमलव ९३ प्रतिशत अर्थात १ करोड ५९ लाख ९३ हजार, तेमाल गाउँपालिकाको २ दशमलव ३९ प्रतिशत अर्थात २ करोड ५५ लाख ६९ हजार, नमोबुद्ध नगरपालिकाको २ दशमलव ३१ प्रतिशत अर्थात २ करोड ९३ लाख १७ हजार, धुलिखेल नगरपालिकाको १ दशमलव ९३ प्रतिशत अर्थात एक अर्ब ७१ करोड ६१ लाख ४ हजार, खानीखोला गाउँपालिकाको १ दशमलव ९३ प्रतिशत अर्थात १ करोड ४५ लाख ४० हजार, बेथानचोक गाउँपालिकाको १ दशमलव ८७ प्रतिशत अर्थात १ करोड ७२ लाख ७३ हजार, बनेपा नगरपालिकाको १ दशमलव ५३ प्रतिशत अर्थात ३ करोड ५१ लाख ३० हजार, भूम्लु गाउँपालिकाको १ दशमलव ४६ प्रतिशत अर्थात १ करोड ७१ लाख १५ हजार, चौरीदेउराली गाउँपालिकाको १ दशमलव ०४ प्रतिशत अर्थात १ करोड १८ लाख ७१ हजार बेरुजु देखिएको छ ।