काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नं ३ कुशादेविस्थित धारापानी सामुदायिक वन क्षेत्रमा कतै लप्सी फुलेको छ, कतै अम्रेसो झुलेको छ । ब्लाक डाइमण्ड भनेर चिनिने अलैँची पनि त्यत्तिकै देखिन्छ ।
संरक्षणमा नयाँ अभ्यास गरी वनलाई आम्दानीको श्रोत बनाउन धारपानी सामुदायिक वन उपभोक्ता समिति अग्रसर भएको छ । उपभोक्ता समितिका कोषाध्यक्ष अम्बिका तिमिल्सनाका अनुसार दुई दशकदेखि महिलाको नेत्तृत्वमा रहे पनि वनलाई आम्दानीको स्रोत बनाउन अहिले बल्ल फलफूल,जडीबुटी र फूलका विरुवा रोपिएको हो ।
दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा अलैँची, अम्रेसोसहितका आम्दानी दिने विरुवा लगाइएको छ । अलैँची र अम्रेसोका लागि उपयुक्त हावापानी भएकोले ती प्रजातिका बिरुवा रोपिएको तिमल्सिनाले बताइन । उपभोक्ता समितिले गरेको सर्भेक्षण अनुसार अलैची र अम्रिसो उत्पादनको बजार मूल्य लाभदायक देखिएको छ ।
‘अलैची र अम्रिसोलाई प्राथमिकतामा राखेर रोपिएको छ । मौसम अनुसार फूल र फलफूल लगाइने भएकाले त्यसबाट पनि आम्दानी हुन्छ’,समितिकी अध्यक्ष भगवती घिमिरेले भनिन् । सामुदायिक वनमा लगाइएका बिरुवाले प्रतिफल दिन थालेपछि हुने आम्दानी महिला समूहमा लगानी गरिने योजना पनि उनले बताईन् ।
उनका अनुसार यस वनबाट जति आम्दानी हुन्छ, त्यो रकम समितिको घुम्ति कोषमा राख्ने गरिएको छ । ‘पहिले यी दुवै बालीबाट राम्रो आम्दानी हुन्थ्यो, तर केही समय यता रोग लागेर, पहिले जस्तो आम्दानी लिन सकेका छैनौँ,’ समितिकी अध्यक्ष घिमिरेले भनिन्, ‘ प्रत्येक बालीबाट बार्षिक १५÷२० हजार जति आम्दानी लिने गरेका छौँ । उक्त आम्दानी रकम सिधैँ कोषमा जम्मा हुन्छ ।’
उनका अनुसार अहिलेसम्म कोषमा चार लाख रुपैँया जम्मा भएको छ । ‘कोषमा भएको रकम ६ प्रतिशत ब्याजमा आवश्यक पर्ने नमूना सहकारीका महिला सदस्यहरुले पालैपालोे उपयोग गर्दै आएको अध्यक्ष घिमिरेले बताइन् । उनका अनुसार यस समूहबाट केहीले तरकारी खेती गर्न त केहीले व्यापार व्यवसाय प्रयोजनका लागि कोषको रकम उपयोग गर्दै आएका छन् ।
उक्त वनका उपभोक्ता अधिकांश महिलाहरु नै छन् । महिलाहरुले गरेको काम पारदर्शी र उत्तरदायी भएकाले नै उक्त सामुदायिक वनको लोकप्रियता बढेको पनौती नगरपालिका वडा नं ३ का पूर्व वडा अध्यक्ष किशोर थापाले बताए ।
घाँस दाउराका लागि मात्र प्रयोग गर्दै हुँदै आएको धारापानी सामुदायिक वन अहिले कोलाहाल र कंक्रिटको जंगलबाट स्वस्थ वातावरणमा रम्ने प्राकृतिक जंगलमा परिणत हुँदै गएको छ । रोपिएका बिरुवा छोराछोरीलाई जस्तै हुर्काउन र संरक्षण गर्न महिलाहरुले देखाएको सक्रियता र मेहनतले धारापानी सामुदायिक वन अहिलेको अवस्थामा आइपुगेको हो । समितिकी कोषध्यक्ष तिमल्सिना भन्छिन ‘उपभोक्ताको मुख्य भूमिकालाई नेत्तृत्वले ग्रहण गर्न सफल भएकै कारण वनले यो रुप लिन पुगेको छ ।’
धारापानी जस्तै बनेपा नगरपालिका वडा नं १० स्थित पुलबजारमा रहेको बालकुमारी सामुदायिक वनमा महिलाहरुकै सक्रियतामा लप्सी, उतिस, सल्ला जातका बिरुवा रोपिएका छन् । यसरी महिलाहरुको सक्रियता बढ्दै जाने हो भने फेरि एक पटक हरियो वन नेपालको धन भन्ने नारालाई व्यवहारतः स्थापित हुने बालकुमारी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष गणेश माया रंजित बताउँछिन् ।
‘हामीले वनलाई माया गर्यौँ भने पो वनले पनि हामीलाई स्वच्छ हावापानी दिन्छ,’ कोषाध्यक्ष रंजितले भनिन्, ‘कतै कतै अझै पनि हेपाहा प्रवृति छ । महिलाहरुले के नै गर्न सक्छ र १, यिनीहरुले भनेको किन्न मान्ने भन्ने खालको सोच अझै पनि हाम्रो समाजमा कायम नै छ ।’
असफलताबाट पाठ सिक्दै वनलाई आम्दानीको श्रोत जुटाउने आधार तयार पार्न सफलताका योजना बनाएर लागू गर्न लागिएको समितिकी कोषाध्यक्ष रंजित बताउँछिन । उनी भन्छिन्, ‘रोपिएका लप्सीमा ठूलो दाना नलागेकाले यसको बिक्री गरिएन । अन्य विरुवा रोपेर यहाँबाट पनि केही आम्दानी जुटाउने सोच बनाएका छौँ ।’
सिन्धुपाल्चोकको ठोकर्पाबाट शुरु भएको सामुदायिक वनको अवधारणा धारापानी र बालकुमारी वनसम्म आइपुग्दा उतारचढाव देखिएको छ । समुदाय मार्फत् वन संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने नीति सहित समुदायलाई जिम्मेवारी दिएपछि नाङ्गा डाँडा र सुख्खा मैदानहरु हरियाली बनाउने अभियानले तिव्रता पाएको हो ।
संरक्षणको काम स्थानीय समुदायलाई सुम्पिएपछि जल, जङ्गल, जमिनभित्र आश्रित रहेका खेती किसानी गर्ने महिलाहरुको जिम्मेवारी थपिएको छ । सोही अनुसार धारापानी र बालकुमारी सामुदायिक वन उपभोक्ता समितिमा महिलाले नेत्तृत्व पाएका हुन् ।
काभ्रेको कुल क्षेत्रफलमध्ये ७३ हजार ७५ हेक्टर वन जंगलले ढाकेको छ । जसमा २ हजार ५ सय ३२ हेक्टर सामुदायिक वनले ओगटेको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङकमा देखिन्छ । तथ्याङक अनुसार जिल्लामा रहेका ५ सय ७९ सामुदायिक वन उपभोक्ता समितिमध्ये ४१ वटा सामुदायिक वनको नेत्तृत्व महिलाले गरेका छन् । केही वर्ष यता जिल्लामा वन संरक्षणमा महिलाको नेत्तृत्व बृद्धि हुदैँ गएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख देवीचन्द्र पोखरेलले बताए ।
उनका अनुसार जिल्लाका १३ वटा स्थानीय तहमध्ये महाभारत गाउँपालिकामा महिलाले नेत्तृत्व गरेको सामुदायिक वनको संख्या बढि देखिन्छ । जहाँ आठ वटा समुदायिक वनको नेत्तृत्व महिलाले नै गरेका छन् । कार्यालयको तथ्याङक अनुसार चौरीँदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकामा भने सामुदायिक वनमा महिलाको नेत्तृत्व शून्य छ ।
धुलिखेल नगरपालिकामा एक, बनेपा नगरपालिकामा दुई, पाँचखाल नगरपालिकामा तीन, मण्डनदेउपुर नगरपालिकामा ६, नमोबुद्ध नगरपालिकामा सात, पनौती नगरपालिकामा पाँच, खानीखोला गाउँपालिकामा एक, रोशी गाउँपालिकामा एक, तेमाल गाउँपालिकामा ६ र भुम्लु गाउँपालिकामा एक वटा सामुदायिक वनमा महिलाको नेत्तृत्व रहेको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
महिलाले नेत्तृत्व गरेको यी सामुदायिक वनमा पनि जिल्लाको नमोबुद्ध नगरपालिकामा महिलाहरुको सहभागीता बढि भएको कार्यालयकी सहायक अधिकृत सरिता लामाले जानकारी दिइन् । उनका अनु्सार जहाँ सात वटा सामुदायिक रहेका छन्, जसको ४ सय १०.६६ हेक्टर क्षेत्रफल रहेको छ भने २ हजार ९२ जना महिलाहरुको सहभागीता रहेको छ ।
त्यस्तै जिल्लाको खानीखोला गाउँपालिकामा महिलाले नेत्तृत्व गरेको सामुदायिक वनमा महिलाको सहभागीता सबैभन्दा कम रहेको छ । जहाँ एक वटा सामुदायिक वनको २.९० हेक्टर क्षेत्रफल रहेको छ भने ८६ जना महिलाको सहभागीता रहेको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
सामुदायिक वन उपभोक्ता महासंघको विधानमा ५० प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरिएकोले उपभोक्ता समितिको नेत्तृत्वमा महिलाको संख्या बृद्धि भएको महासंघका बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटा बताउँछन् ।
उनका अनुसार वन संरक्षणको नेत्तृत्व महिलाहरुले गरेसँगै वन फडानीको कार्यमा कमी आएको छ । उनका अनुसार वनमा महिलाको नेत्तत्व बृद्धि भएसँगै वनलाई आम्दानीको दृष्टिकोणबाट हेर्न थालिएको छ । जसले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै लैजाने आशा जगाएको छ । वन कार्यालयका सहायक अधिकृत लामाका अनुसार महिलाहरुलाई सामुदायिक वनबाट आम्दानीको श्रोतसँगै कार्यालयले नेत्तृत्व विकासका लागि तालिम प्रदान गर्दै आइरहेको छ ।
‘जिल्लाको १३ वटै स्थानीय तहबाट महिलाको नेत्तृत्व हुने गरी २५ जना महिलाहरुलाई सामुदायिक वनको नेत्तृत्वका लागि पहिलो चरणको तालिम प्रदान गरिएको छ,’ उनले भनिन्, ‘सामुदायिक वनमा महिलाको सहभागीता र नेत्तृत्वमा गुणात्मक बृद्धिसँगै गुणस्तर बृद्धिलाइ पनि प्राथमिकतामा राखेर नेत्तृत्व विकास सम्बन्धि तीन चरणको तालिमको आयोजना गरेका हौँ ।’
उनका अनुसार अहिले पहिलो चरणको कार्यक्रम सकिएको छ र तीनै चरणको तालिम सम्पन्न हुँदा सामुदायिक वनको नेत्तृत्वमा केही परिवर्तनहरु आउँनेछ । महिलाहरुले नेत्तृत्व गरेको वनको रेखदेखमा सर्तकता, राम्रो स्याहार सुसार र वन फडानी हुन नदिन खबरदारीमा बृद्धि भएको पाइएको छ । महिलाहरुलाई नेत्तृत्वको अवसर दिएमा वन संरक्षणमा योगदान पुग्न सक्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य शान्ता न्यौपाने बताउँछिन् ।
पुरुषहरु वैदेशिक रोजगारीमा जाँदा घरपरिवार, गाईवस्तु, खेतीपाती, मेलापर्व सबै व्यवस्थापन गरेर सामुदायिक वन हरियाली बनाउने अभियानमा महिलाहरु जोडिनु नै आजको वनको हराभराको महत्वपूर्ण पक्ष बनेको उनी बताउँछिन् । सामुदायिक वनमा लगाइएको रुख तथा फलफूलको बिरुवा जोगाउने जिम्मेवारी सबैको भएतापनि स्थलगत अध्ययनका आधारमा महिलाहरुले बढि जिम्मेवारी लिएको पाइएको छ ।
उनका अनुसार तुलनात्मक रुपमा महिलाहरु पहिले भन्दा अहिले वन संरक्षण र त्यसको नेत्तृत्व गर्न आफै जागरुक हुन थालेका छन् । काभ्रेको ४१ वटा सामुदायिक वन उपभोक्ता समितिको नेत्तृत्व कार्य सम्पादनकै कारण महिलाको काँधमा पुगेको उनी बताउँछिन् । ‘महिलाहरुले आफ्नो व्यवसायिक कामसँगै वन संरक्षणमा पनि उत्तिकै सक्रिय भएर काम गरिरहेका हुन्छ्न,’ उनले भनिन्, ‘महिलाहरु सक्रिय भएर वनको निगरानी राख्नाले वन फडानी भएको छैन ।’
घाँस, दाउरा, सोत्तरको प्रयोजनका लागि बिहानको झिस्मिसे उज्यालोदेखि झमक्कै रात पर्दासम्म पनि महिलाहरुको क्रियाकलाप वन जंगलसँगै जोडिएको हुन्छ । त्यसकारण पनि उनीहरुको वनप्रति अलि बढि अपनत्व हुने गर्दछ । जसले गर्दा उनीहरुले वनको रेखदेखमा बढि ध्यान दिने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य न्यौपाने बताउँछिन् ।
उनका अनुसार वन जंगलमा हुने गतिविधि बारेमा महिलाहरुलाई पनि बढि जानकारी हुने हुदाँ उनीहरुले वनमा कुनै पनि प्रकारका नराम्रा गतिविधि हुन नदिन खबरदारी गर्ने गर्छन् । ‘यदि कसैले वनमा चोरी निकासी कार्य गरेको पाइएमा महिलाहरुले सम्बन्धित सरोकारवाला निकायलाई खबर गर्ने गर्छन्,’ उनले भनिन्, ‘यससँगै महिलाहरुले सामुदायिक वनमा आर्थिक हिनामिना र अनियमितता जस्ता कार्य हुन नदिनुको साथै यसको खबरदारी पनि गर्ने गर्छन् ।
महिलाहरुले वनलााई उद्यमशीलताको कच्चा पदार्थ उत्पादन गर्ने थलोको रुपमा विकास गर्न खोजिरहेका छन् । महिलाहरुलाई सशक्तिकरण, उद्यमशीलता, क्षमता बृद्धि लगायतका काममा प्रोत्साहित गर्न तालिम र अध्ययन तथा अवलोकन भ्रमणमा पठाएर अनुभव आदान प्रदान गर्ने अभ्यास गर्नु पर्ने सापकोटाको सल्लाह छ । तालिम र अध्ययन अवलोकन भ्रमणले सीप र ज्ञान हासिल गरी जीवनस्तरमा परिवर्तन ल्याउन सकिने आशा जागेको छ ।























