जुवा खेलिरहेको अवस्थामा स्थानीय शिक्षक सहित ११ जना पक्राउ

बझाङ : जुवा खेलिरहेको अवस्थामा बझाङबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत (चैनपुर) स्थित विष्णु मण्डेलको घरमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ९१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, जयपृथ्वी– ८ का नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र विष्णु मण्डेल छन्।

पक्राउ परेकाहरु शिक्षकसँगै धेरै जना सरकारी सेवाबाट अवकाश पाएका व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस