दुई वटा वयस्क चितुवाको छाला दुई जना पक्राउ
बिहिबार, साउन १२, २०७९ | १३:०१:५२
कञ्चनपुर : दुई वटा वयस्क चितुवाको छालासहित कञ्चनपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका–२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् ।
बरामद गरिएको एउटा छालाको लम्बाइ ८ फिट ८ इन्च र चौडाइ ३ इन्च तथा अर्को छालाको लम्बाइ ७ फिट २ इन्च र चौडाइ २ फिट ८ इन्छ । दुईवटा छाला वयस्क चितुवाकै भएको प्रहरीले जनाएको छ ।