कास्की : पहिरोले घर पुरिँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यस्तै कास्कीको माछापुच्छ«े गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए। घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ ।
उक्त घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि वर्षा भइरहेको छ ।



















