युवकको हत्या गरी फरार रहेका घटनाका मुख्य योजनाकार पक्राउ

सुनसरी : सुनसरीको इटहरीमा युवकको हत्या गरी फरार रहेका घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते रातको समयमा इटहरी ४ स्थित बूढीखोला नजिकै सोही स्थानका २० वर्षीय सुमन तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
हत्यामा संलग्न सुशील राई, अनिष भनिने राज मगर, बबीनारायण चौधरी, बिर्ख भनिनेर डम्बरबहादुर भुजेल र अर्जुन बिकले इट्टाले टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जनाए ।
उनका अनुसार इटहरी ४ गैरीगाउँ बस्ने २८ वर्षीय बिर्ख भनिने डम्बरबहादुर भुजेल तत्काल फरार रहेकाले खोजतलास गर्ने क्रममा साउन १३ गते गाउँघरबाटै प्रहरीले पक्राउ गरेको हो । अन्यलाई भने यसअघि नै पक्राउ गरी पूर्पक्षमा कारागार चलान गरिएको छ ।
पक्राउ परेका भुजेल मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भुजेललाई आइतबार जिल्ला अदालत सुनसरीमा हाजिर गराएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनाको यकिन कारण नखुलेकाले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।