चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

खलङ्गा : जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ ।

यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् ।

झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो । प्रिमियर शोका लागि चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आज जुम्ला पुगेर पत्रकार भेटघाट कार्यक्रम गरेका थिए।

चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै रु दुई करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुवेदीले भने, “चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ । गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ । हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौँ ।” साथै अस्ट्रेलियाबाट चलचित्र प्रदर्शनबाट उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।

पत्रकार भेटघाटमा नायक  खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताए। जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई चलचित्रले जोड दिएको लेखक सुवेदीले बताए ।

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस