शनिबार, मंसिर २७, २०८२
अमेरिकाबाट हुलाकमा आएको गाँजा लिन पुगेका मण्डदेउपुरका राई सहित तीन जना पक्राउ

काठमाडौँ : अमेरिकाको क्यालिफोर्नियाबाट आएको गाँजा हुलाकबाट रिसिभ गरेर मगाउने व्यक्ति सम्म लैजाने चेनमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ७ घर भएका २८ वर्षका मनोज राई सहित काठमाडौँको नक्साल घर भएका ३० वर्षीय अङ्कित कुमार श्रेष्ठ र काठमाडौँ–१७ खुसिबु घर भएका ३० वर्षीय राहुल क्षेत्री रहेका छन् ।

भदौ २० गते डिल्लीबजार स्थित गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट मनोज राईलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले मनोजलाई नियन्त्रणमा लिएको थियो । मनोजले रिसिभ गरेको पार्सल खोल्दा २ किलो गाँजा भेटिएको ब्युरोका एसएसपी विकाशराज खनालले जानकारी दिए ।

राहुलले अङ्कित र मनोजलाई ३० हजार दिने सर्तमा डिल्लीबजार हुलाक कार्यालयमा आएको पार्सल रिसिभ गर्न पठाएका हुन् । तर, अंकितले आफू नगएर मनोजलाई मात्र हुलाकमार्फत पार्सलमा आएको गाँजा रिसिभ गर्न पठाएका थिए । अङ्कित र राहुललाई नक्सालबाट पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।

उनका अनुसार नेपालबाट तस्करहरूले भारत लगायतका मुलुकमा गाँजा तस्करी गर्दै आएका छन् । तर, अमेरिकाबाट किन गाँजा ल्याइयो भन्नेबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । यसअघि क्यानडा, र अमेरिकाबाट कारोबारीहरूले ३ पटक थोरै मात्रामा गाँजा नेपालमा ल्याएका थिए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय