काभ्रे । पनौती नगरपालिका वडा नं २ कुशादेवीमा भएको जिल्ला व्यापी भलिवल प्रतियोगिताको उपाधी खानीखोला गाउँपालिका डाँडापारिले हात पारेको छ । यो सँगै उसले जिल्लाको ठूला प्रतियोगितामा पुनः विजयी बनेको छ ।
शनिबार भएको फाइनलमा डाँडापारिकै छिमेकी महाभारत गाउँपालिकालाई २६–२४, २५–११ र २५–१४ को सोझो सेटमै पराजित गर्दै नगद ५५ हजार ५५५ रुपियाँ सहित ट्रफी हात पार्याे । त्यस्तै महाभारत गाउँपालिकाले ३० हजार नगद पायो । प्रतियोगितामा पनौती नगरपालिकाको टिमले तेश्रो स्थान हात पार्दै १० हजार पुरस्कार हात पार्याे ।
प्रतियोगिताभरमा वेष्ट स्पाइकर महाभारतका जिनराम सिङ्तान, वेष्ट सेटर खानीखोलाका सुवास थोकर, वल्कर खानीखोलाकै जीवन भ्लोन घोषित हुनुभयो । वेष्ट प्लेयर खानीखोलाका मनराज आलेमगर, वेष्ट प्रशिक्षक खानीखोलाका राजन सापकोटा घोषित भए । त्यस्तै वेस्ट सइसिट महाभारतका सुदान मोक्तान र डिफेन्स महाभारतकै सुरेश थिङ चुनिए । फरक–फरक विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद दुई हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लामा भलिवल खेलको विकास गराउने उदेश्यले पनौती नगरपालिकाले आयोजना गरेको जिल्लाव्यापी भलिवल प्रतियोगितामा आठ वटा समुहको सहभागिता रहेको थियो । पुरस्कार वितरणमा पनौती नपाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, महाभारत गाँउपालिकाका प्रमुख कान्छालाल जिम्बा र खानीखोला गाउँपालिकाका प्रमुख इन्द्रबहादुर थिङले पुरस्कार वितरण गरे ।
सफल प्रतियोगिता गरेर पनौती बन्यो उदाहरणीय
पनौती नगरपालिकाले जिल्ला स्तरीय सफल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताले एउटा ठूलो सन्देश समेत दिएको छ । पनौती नगरपालिका वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले स्थानीय कुशादेवी युवा क्लव र लप्सेटार युवा क्लवको सहजीकरणमा भएको प्रतियोगिता सफल बनाउन स्थानीय नागरिकको ठूलो हौसला मिलेको छ । फाइनल खेल हेर्न शनिबार खेल मैदानमा हजारौं स्थानीय उपस्थित भएका थिए ।
लाखौं रुपियाँको खर्चमा प्रतियोगिता गर्नु चानचुने कुरा थिएन । सबैको प्रेरणाले कार्यक्रम सम्पन्न भएकोमा वडा अध्यक्ष अधिकारीले धन्यवाद दिए ।
प्रतियोगिताको समापन कार्यक्रममा दिपेश घिमिरेले कुशादेवी ठूला प्रतियोगिता गर्न समक्ष रहेको सन्देश जारी गरेको बताउँदै यसले हौसला मिलेको बताए । सबैको साथ र सहयोगले काभ्रेकै ठूलो प्रतियोगिताको रुपमा कुशादेवीको भलिबल प्रतियोगिता बन्न पुगेको स्थानीयले दाबी गरेका छन् ।
जंगम परिवारको उपकारी मन
पनौतीका व्यवसायी जंगबहादुर जंगम तथा उहाँको श्रीमती पुनम जगमले पुनः एक पटक परोपकारको काम गरेका छन् । खेल मैदान सम्याउने देखि लिएर खेलाडीलाई जर्सी,ट्राक सुट सहयोग गर्ने र दोश्रो पुरस्कार राशीको सहयोग गरेर जंगम परिवारले आफ्नो समाजसेवाको यात्रालाई अघि बढाएका छन् ।
सानादेखि ठूला समस्यामा सदैव सहयोगी बन्दै काभ्रे जिल्लाका स्थानीयसँग मन मनमा बस्न सफल भएका जंगम परिवारले पुनः एक पटक आफूलाई असल नागरिकको रुपमा प्रस्तुत गरेका छन् ।



















