चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।

१० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”

बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि माटाका भाँडा बनाउनेमै बित्छ । नजिकैबाट डल्लबमा माटो ल्याउनु, चक्रमा राख्नु अनि विभिन्न आकारका खुत्रुके, घैँटा, गमलालगायत भाँडा तयार पार्नु दोङ्गालीको दैनिकी बनेको छ । उनले पनि बुवाबाटै १२ वर्षको उमेरदेखि माटाका भाँडा बनाउन सिके ।

उनले भने, “अब यो पेसा अपनाउन छोरा नातिले चाहेका छैनन् । हाम्रो शेषपछि यो पेसा पनि मर्छ ।”

पुख्र्यौली पेसा, सीप र कलालाई नयाँ पुस्ताले अँगाल्न नचाहेको गुनासो उनको छ । नयाँ पुस्ताले अन्य पेसा र व्यवसाय अँगालेपछि पुख्र्यौली पेसा लोप हुने चिन्ता कुमाल समुदायमा छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस