गठबन्धनका सबै उम्मेदवारको जित निश्चित भइसक्यो : सुर्यमान दोङ ‘लालध्वज’

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुर्यमान दोङ ‘लालध्वज’ काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उनले आफ्नो जित निश्चित भइसकेको दावी गरेका छन् । उनै उम्मेदवार लालध्वजसँग गरिएको कुराकानी :

0 चुनावी अभियान कस्तो चलिरहेको छ ?
घरदैलो अभियान जारी छ । आजसम्म हामीले ग्रामीण र सहरी क्षेत्रका बस्तीहरुमा घरदैलो गरेका छौँ । अहिलेसम्म हामी जुन ठाउँमा पुग्यौँ, त्यो ठाउँमा हामीले जनताको अपार माया पाएका छौँ । जनताले अहिले हामीमाथि भरोसा गरेका छन् भन्ने देखिन्छ ।

0 जनताको तहमा पुग्दा निर्वाचनको खासै उत्साह छैन भन्ने पनि सुनिन्छ नि ?
त्यस्तो होइन । हामीले जनतामा निर्वाचनको अत्यन्तै उत्साह पाएका छौँ । जनता उत्साहित छन् । निर्वाचनको माहौल छ, यो माहौलमा जनतामा उत्साह नहुने भन्ने कुरै छैन ।

0 तपाईहरुमाथि जनताले किन भरोसा गर्ने ?
हामी जनताको सदैव भलो चिताउने, विकास निर्माण र समस्यामा उभिने मान्छे हौँ । जहाँ जनताको समस्या छन्, त्यहाँ उभिने मान्छे हौँ । विगतको कुरा होस् या भविष्यको कुरा होस्, हामी जनतासँगै छौँ, जनताकै बीचमा रहन्छौँ । जनताको आकांक्षा, चाहना र सपना कार्यान्वयन गर्नेबाहेक हामीसँग सपना हुँदैन, रहने छैन । त्यसबाहेक विगतमा जनताको हितमा काम हामीले नै गरेका छौँ, अब गर्ने पनि हामीले नै हौँ ।

त्यसबाहेक नेपाली जनताले चुनेको प्रतिनिधिले लेखेको नेपालको संविधान जोगाएर हामी एक ठाउँमा उभिएर गठबन्धनको रुपमा निर्वाचनमा आएका छौँ । हामी अहिले जनताको अधिकार सुरक्षित भएको संविधान जोगाएर समुन्नत र विकसित काभ्रे निर्माणको सपना लिएर आएका छौँ । यसकारणले हामीलाई जनताले भरोसा गर्नुहुन्छ भन्ने विश्वास र हामीले त्यो अनूभुति गरेका छौँ ।

0 तपाईहरुको गठबन्धन एउटा निर्वाचन जित्नका लागि मात्रै हो भन्ने पनि गरिन्छ नि ?
त्यसरी बुझ्दा गलत हुन्छ । निर्वाचन जित्नका लागि मात्रै हामीले गठबन्धन गरेका होइनौँ । जतिबेला माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी र अन्य पाँच दलको बीचमा गठबन्धन भयो, त्यतिबेला चुनाव जित्ने होइन, यो संविधान जोगाउने र देशलाई प्रतिगमनतिर लैजाने भन्ने लडाई थियो । हामी संविधानलाई जोगाउने, मुलुकमा स्थायीत्व प्रदान गर्ने र विकास र समृद्धिको युग सुरु गर्ने पक्षमा उभियौँ । एमाले यो संविधानलाई च्यात्ने, देशलाई अध्याँरोतिर लैजाने पक्षमा उभियो । आजसम्म पनि एमाले राजावादीसँग घाँटी जोड्ने र संविधानलाई च्यातेर देशलाई अध्याँरोतिर लैजाने प्रयासमा छन् । अहिले राप्रपासँगको गठबन्धन त्यसैको एउटा निरन्तरता हो ।

त्यसकारणले यो गठबन्धन केवल चुनाव जित्नका लागि होइन । मुलुकको समृद्धि र विकासको लागि, संविधान रक्षा र जनताको अधिकारको सुनिश्चितताको लागि हो भन्ने कुरा म प्रष्ट पार्न चाहन्छु ।

0 गठबन्धनमा विगतदेखि वर्तमानसम्मको अभ्यास हेर्दा पनि कांग्रेस इमानदार छैनन् भन्ने देखिन्छ ? तपाई के लाग्छ ?
हामी मुलुकको आवश्यकताका कारणले जनताको हित र विकासको चाहना पूरा गर्नका लागि एक ठाउँमा उभिएका छौँ । यो हामी कसैको व्यक्तिगत चाहना होइन । कांग्रेससँगको हाम्रो गठबन्धन राम्रो भएन भन्ने पनि होइन । हामीले स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धनमा कांग्रेसले बेइमानी गरेको छौँ । केही प्रतिशतको घटबढ ठुलो कुरा होइन । त्यो कांग्रेस, माओवादी या अरुबाट पनि हुनसक्छ । तर, मुल रुपमा कांग्रेसले विगतमा धोका दिएको छैन । कांग्रेस एउटा इतिहास बोकेको पार्टी हो, कांग्रेसले अवश्य आफ्नो इमानदारिता प्रस्तुत गर्छन्, गर्नुपर्छ ।

कांग्रेस, माओवादी या एमालेसमेतमा आस्था राख्ने सबैले संविधानको रक्षा, स्थिरता र विकास चाहने हो भने मलाई मतदान गर्नुहुन्छ भन्ने मेरो विश्वास हो । कांग्रेसप्रति मेरो पूर्ण विश्वास नै छ ।

0 कांग्रेसबाट मत क्रस हुन्छ कि भन्ने डर छैन ?
कांग्रेसबाट मत क्रस हुन्छ भन्नेमा मलाई विश्वास छैन । कांग्रेसबाट मत क्रस हुन्छ भन्ने कुरा एउटा भ्रमबाहेक अरु केही होइन । मेरो हकमा कुरा गर्ने हो भने कांग्रेसको कुरा छाडौँ, एमालेले नै मलाई मत हाल्छन् भन्ने मेरो विश्वास हो । किनभने प्रतिगमन रोक्ने कि प्रतिगमन रोज्ने भन्नेमा मतदाता प्रष्ट हुनुहुन्छ ।

0 एमालेले पनि तपाईलाई मत हाल्छन् भन्नेसम्मको विश्वास चाहिँ कसरी पैदा भयो ?
एमालेका लागि विकल्पको रुपमा हामी छौँ भन्ने कुरा हो । मलाई व्यक्तिगत कुरा गर्नु छैन, तर पनि एमालेका जो उम्मेदवार हुनुहुन्छ, उहाँलाई भन्दा मलाई नै मत दिनुहुन्छ भन्ने एमालेका कैयन् साथीहरु पनि हुनुहुन्छ ।

अर्को कुरा चाहिँ, हालै मात्र एमालेका कतिपय जिम्मेवार साथीहरु हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । अन्य केही जिम्मेवार साथीहरु प्रवेश गर्ने विषयमा छलफल भइरहेको छ । अहिले प्रवेश भएका साथीहरुले पनि प्रष्ट रुपमा गठबन्धनका उम्मेदवारसँग एमालेका उम्मेदवारको तुलना हुँदैन भनेरै भनिरहनुभएको छ ।

त्यसबाहेक काभ्रेको विकास, जनताको समस्या र त्यसको समाधान अब अरुबाट हुँदैन, त्यो केवल हामीबाट मात्रै सम्भव छ भन्ने कुरा जनताले राम्रोसँग बुझिसकेका छन् ।

0 काभ्रेको विकास र समृद्धिको सन्दर्भमा तपाईहरुसँग के एजेण्डा छ ?
मुल रुपमा हामीले अहिले ‘समुन्नत र विकसित काभ्रे निर्माण’को महाअभियान थालेका छौँ । यो महाअभियानभित्र काभ्रेको विकास र समुन्नतीका योजनाहरु समेटिएर हामीले जनताको समस्या र आकांक्षा समाधान गर्छौ ।

काभ्रेको विकास र समृद्धिकै सन्दर्भमा कुरा गर्ने हो भने सुनकोशी तेश्रो जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने हाम्रो मुख्य एजेण्डा हो । यो आयोजना हाम्रो क्षेत्रको मुटुमा पर्दछ । यो बागमती प्रदेशकै एउटा गौरवको आयोजना हो । यसबाट काभ्रेको विकास, पर्यटन र समुन्नतीमा महत्वपूर्ण इँटा थप्छ भन्ने हाम्रो विश्वास हो ।

अर्को कुरा कोखाजोर खोला जलिद्युतको काम हामी जसैगरी पनि प्रारम्भ गर्छौ । यो परियोजनाले सिंगो डाँडापारि, काभ्रे र मुलुकको समृद्धिमा अर्को एउटा इँटा थप्छ । कोखाजोरलाई पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्छ भन्ने हाम्रो सामुहिक विश्वास हो, यो काम हामी जसैगरी गर्छौ ।

त्यसबाहेक काभ्रेको क्षेत्र नम्बर १ का सबै पालिकामा १२ महिना नै चल्ने सडक बनाउने हाम्रो प्रतिबद्धता हो । कालोपत्रे, ढलान् र स्तरोन्नती गर्नुपर्ने ठाउँका सबै सडक निर्माणमा हाम्रो ध्यान रहने नै छ । पालिका सदरमुकामबाट मुख्य सहरसम्मको सडक जसैगरी कालोपत्रे गर्नेगरी हामी काम गर्छौ ।

निर्वाचन क्षेत्रका जुन जुन क्षेत्रमा खानेपानीको समस्या छ, त्यहाँ शुद्ध खानेपानीसहित एक घर एक धाराको व्यवस्थापन हामी गर्छौ । क्षेत्रभरीका सबै पालिकामा विद्युतीकरणको काम सम्पन्न गर्छौ । डाँडापारिको महाभारत र खानीखोलाका दुवै क्षेत्र केही समयभित्र नै हामी झलमल्ल बनाउँछौँ ।

स्वास्थ्यको कुरा गर्दा सबै पालिकाहरुमा सुविधायुक्त अस्पताल निर्माण गर्छौ । क्षेत्रभरीका सबै ठाउँमा फोरजी सेवासहितको टेलिफोन नेटवर्कको विस्तार गर्छौ । विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि गुणस्तर एवं सिपमुलक शिक्षाका लागि आवश्यक सामग्रीको व्यवस्थापन र जनशक्तिको परिपूर्ति गर्छौ ।

कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य निर्धारण गरी बजारको व्यवस्था गर्नेमा पनि हाम्रो ध्यान रहन्छ । क्षेत्रभरीका ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा हाम्रो मुल जोड रहन्छ नै ।

पर्यटकीय क्षेत्रका विकास, मठमन्दिर, गुम्बा निर्माणसहित जनताको जीवनमा परिवर्तन ल्याउनेखालका हरेक आयोजना र आवश्यकता हामी पूरा गर्छौ ।

0 तपाईले यति धेरै आफ्नो योजना सुनाउनुभयो, तर चुनाव जितेपछि नेता गाउँ फर्केर आउँदैनन्, भन्ने गुनासो सुनिन्छ नि ?
यो गुनासो म आफैँले पनि सुनेको छु । चुनाव जितेपछि नेता गाउँ नै फर्किदैनन् भन्ने धेरै छन् । व्यक्तिगत रुपमा म सधैँ जनताको बीचमा, जनताको पहुँचमा हुने मान्छे हुँ । मैले भनेको छु, पहुँचको हिसाबले म सधैँ सडकमा हुन्छ, हुने मान्छे हुँ । अर्को कुरा, म तपाईको लोकप्रिय सञ्चारमाध्यममार्फत के भन्ने चाहन्छु भने निर्वाचन जितेको भोलिपल्टदेखि नै हामी सबै ठाउँमा पुगेर विकासको खाका बनाउँछौँ । हाम्रो पहिलो प्राथमिकता के हो ? हामीले नगरी नहुने काम केके हुन् ? भन्नेजस्ता विषयमा हामी सर्वदलीय छलफल गर्छौ । सम्बन्धित गाउँ ठाउँका राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी लगायतसँग छलफल गर्छौ र हामी कार्यान्वयनमा जान्छौँ ।

0 भनेपछि तपाई चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?
चुनाव जित्नेमा ढुक्क होइन कि कति मतान्तरले जित्ने भन्ने मात्रै हो । मेरो मात्रै होइन, गठबन्धनका सबै उम्मेदवारको जित निश्चित भइसक्यो । औपचारिक घोषणाका लागि हामी मंसिर ०४ को प्रतिक्षामा छौँ ।

0 २०६४ मा मत दिएर जितायौँ, केही पनि गरेनन्, फेरि किन र केका लागि दिने भन्ने पनि छन् नि ?
म प्रष्ट पार्न चाहन्छु, काभ्रेका रणनीतिक र दीर्घकालीन महत्वका योजनाहरु हामीले नै थालेका हौँ । अर्को कुरा ०६४ मा मलाई मत दिएर जिताउनुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईहरुले जुन विश्वास दिएर मलाई जिताउनुभयो त्यसका लागि आभारी छु । तर, केही पनि गरेनन् भन्ने कुरा चाहिँ होइन । विकास निर्माणका महत्वपूर्ण कामहरु पनि मेरै पालामा सुरु भएको हो । केही महत्वपूर्ण आयोजना सुरु भएका छन्, केही मैले सिकेको पनि छु । सुरु भएको र सिकेका कुराहरुलाई पूर्णता दिनका लागि पनि मलाई मतदान गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।

0 तपाई अन्तरिम व्यवस्थापिका र संविधानसभाको पनि सदस्य भइसकेको व्यक्ति हुनुहुन्छ ? तपाईलाई केवल सांसद हुनका लागि फेरि जनताले जिताउनुपर्ने हो र ?
मैले भन्दै आएको छु, म केवल सांसद हुनका लागि मात्रै अहिले निर्वाचन लडेको होइन । म अन्तरिम व्यवस्थापिकाको सदस्य भए । ०६४ मा संविधानसभाको सदस्य भए । प्रदेश क का उम्मेदवार रत्न ढकाल ०७४ मा पनि जित्नुभयो, ख का उम्मेदवार तीर्थ लामा पनि ०७० सालमा संविधानसभाको सदस्य हुनुभएकै व्यक्ति हुनुहुन्छ ।

हामी तीनैजनालाई केवल सांसद हुनु छैन । हाम्रो प्रष्ट कुरा छ सांसद हुनका लागि मात्रै हामी आएका होइनौँ । बरु सांसद हुने बेलाको अनुभवसहित विकसित र समुन्नत काभ्रे बनाउने सपना बोकेर हामी आएका छौँ ।

जनताको समस्या र आकांक्षा पूरा गर्ने लक्ष्य लिएर हामी आएका छौँ । हाम्रो मुल कुरा भनेकै अहिले काभ्रेको विकास र समृद्धि नै हो, केवल सांसद हुने होइन ।

0 अन्तिममा केही भन्नुहुन्छ ?
सर्वप्रथम मलाई यो अवसर दिनुभएकोमा तपाईको टिमप्रति आभारी छु । सबै मतदाताज्युहरुलाई मंसिर ०४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई मतदान गर्नुभई निर्वाचित गराउनुहुन म अपिल गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस