काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताए ।
चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानमन्त्री निवास बालुवाटारबाट आज भर्चुअल सम्बोधन गर्दै उहाँले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।
उहाँले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको उल्लेख गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री दाहालले सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरे ।























