भक्तपुर । नयाँ बर्ष २०८० सालको अवसरमा भक्तपुरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला’ हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरको सल्लाघारीको ९९ रोपनी जग्गामा मेला हुने भएको हो ।
भक्तपुरमा चैत २३ गतेदेखि ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला’ हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डको सहयोगमा चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म उक्त मेला आयोजना गर्न लागिएको हो।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना लागिएको मेला आयोजनाका संयोजक दीपक थापा बताउँछन् ।
उक्त मेला भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी क्षेत्रफलमा आयोजना हुनेछ । मेलामा २ सय भन्दा बढी स्टल रहनेछन् । स्टलहरुमा दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, कृषि सामाग्री एवम् हस्तकलाका सामाग्री बिक्रीका लागि राखिनेछ । त्यस्तै, अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल समेत मेलामा रहनेछन् । उक्त सामानहरुमा २५ देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।
करिब ५ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने र १० देखि १२ करोड रुपैयाँसम्मको कारोवार हुने आयोजकको अपेक्षा रहेको छ । मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछ ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेलको खेलौना समेत व्यवस्था गरिएको छ । यसका साथै मेलामा हरेक दिन व्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहनेछ ।
यो मेलाबाट भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत लाभ लिनसक्ने आयोजकको विश्वास छ । मेलाको अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र साधारण व्यक्तिलाई ७० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।



















