३ क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश

काठमाण्डौ । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्स क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अन्तरिम आदेश जारी गरेको छ ।

आज मङ्गलवार उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीन वटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितका लागि स्थापित स्ववियु चुनाव यथाशीघ्र गराउन तीन वटै क्याम्पसलाई आदेश दिएको हो । आदेशमा विद्यार्थी हकहितका लागि स्थापित स्ववियु चुनावलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ ।

आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले चुनाव गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए ।

यी तीन वटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव गराएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय