शुक्रबार, बैशाख १८, २०८३
पनौती, पाँचखाल, बनेपा र धुलिखेल नगरपालिकाका किसानलाई बाली जोगाउन कठिन

काभ्रे । पनौती नगरपालिका – ५ सुब्बागाउँको खेतमा रोपिएको आलु खेतीमा जंगली जनाबर बँदेलले क्षति पुर्‍याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि स्थानीय कृषक चिन्तित बनेका छन् ।

केही दिनदेखि बँदेल आतङ्कका कारण राति खेत कुर्नुपर्ने बाध्यता आउन थालेको स्थानीय बुद्धिबहादुर थापाले बताए ।

उनका अनुसार नगर तथा जिल्लास्थित निकायमा बालीमा क्षति पुर्‍याएको तथा रोकथामका लागि मौखिक जानकारी गराइएको छ । पीडित कृषक अब लिखितरुपमा माग गर्ने तयारीमा छन् ।

मल र बीउको अभावमा रोपिएको आलु क्षति हुँदा यहाँका कृषक निकै चिन्तित बनेका हुन् । गत वर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा पनि समूह समूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए ।

यसअघि गत असारमा मण्डनदेउपुर नपा – ९ स्थित रायोबारीमा चितुवाले योग गङ्गा वाइल्ड एण्ड च्याटल फार्मका छ सय ५० कालिजमध्ये तीन सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अँध्यारोका समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो ।

मारेको तीन सय ५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरा पालन गरिएको उक्त फार्ममा त्यति बेला रु आठ लाखको क्षति भएको थियो । यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गत वर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बसेका थिए ।

स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए । उनका अनुसार विशेष गरी राति समूह समूहमा आएको बँदेलले फल्न थालेको मकै बाली सखाप पारेका थिए । अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौबाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यति बेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई सामूहिकरुपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । घटनाक्रमले काभ्रेपलान्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ । त्यसैले जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा चार वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित बनेका छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको बताउनुभयो । उहाँका अनुसार जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको छ । स्थानीय जनप्रतिनिधिसँग दुखेसो पोखे पनि कुने समाधानको उपायबारे सहयोग नभएको थपलियाको गुनासो छ ।

बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगाईँ वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताउँछन् । उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिने गर्दछन् । स्थानीय शिक्षक तुलाप्रसाद दाहाल भने बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव सुनाउँछन् ।

धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको वर्षौँ भइसक्यो । उनका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएका बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उखेलेरै फाल्ने गर्छन् ।

काभ्रेपलान्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घरपालुवा जनावरलाई समेत क्षति पुर्‍याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक संख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउँछन् ।  उनका अनुसार कार्यालयसँग बन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ ।

पोखरेलले हाल पनि जिल्लाका केही स्थानबाट जनावरले क्षति पु¥याएको भन्दै क्षतिपूर्ति माग्न आएको बताए ।  उनका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिकरुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलान्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् ।

कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैंपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअनुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय