काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को तथ्यांकले कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गइरहेको देखाएको छ । बिहीबार मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।
बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४ जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हाल दैनिक एक हजार हाराहारीमा कोभिडको परीक्षण भइरहेको देखिन्छ । मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्यांक हेर्दा संक्रमण उकालो लाग्दै गरेको देखिन्छ । चैत ७ र ८ गते संक्रमण शून्यमा रहेकोमा त्यसयता दोहोरो अंकमा संक्रमण पुष्टि हुन थालेको छ ।
भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको विज्ञहरु बताउँछन् । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ केशहरु पुष्टि भएका छन् । यो ६ महिनायता दैनिकरुपमा पुष्टि हुने संख्यामा सबैभन्दा हो । त्यसैगरी सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ पुगेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनले विगतझैँ भारतमा संक्रमण बढेपछि नेपालमा पनि त्यसको प्रभाव परेको बताउँछन् । उनले फ्लू र कोभिडको लक्षण उस्तै उस्तै हुनाले परीक्षण गराउन सुझाए । उनले स्वास्थ्यका मापदण्डजस्तै साबुनपानीले हात धुने, मास्क लगाउने लगायतका कुरा कोभिडलाई मात्र नभइ अरु रोगका लागि पनि सुरक्षित रहेकोले सदैव अपनाउनुपर्ने बताउँछन् ।
सरकारले गरेको पछिल्लो जीन सिकेन्विसङमा नेपालमा १७ वटा ओमिक्रोनका सवभेरिएन्ट देखिएको जनाएको थियो । हाल नेपालमा नयाँ भेरिएन्टको संक्रमण पुष्टि भइसकेको छैन र जीन सिक्वेन्सिङको काम समय–समयमा भइरहेको स्वास्थ्य मन्त्रालय बताउँछ ।
उनले चीनमा अधिकांशले खोप नलगाएकै कारण लकडाउन खोल्नेबित्तिकै धेरैको मृत्यु भएको देखिएकाले कम्तीमा २ डोज भए पनि खोप लगाउन आग्रह गर्छन् । उनले स्वस्थ्य व्यक्तिले दोस्रो मात्राको बुस्टर डोज लगाउन अनिवार्य नरहे पनि ज्येष्ठ नागरिक, दीघरोगी तथा रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज लगाउन आग्रह गर्छन् ।
उनले सरकारले खोप कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउँदै अग्रपंक्तिमा रहेको, दीर्घरोगीलगायतलाई बुस्टर खोप लगाउन अनुरोध गर्छन् । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेकालाई सरकारले खोप दिइरहेको छ । ५५ वर्ष उमेरमाथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले बुस्टर खोप लगाउन सक्ने छन् ।



















